प्रविधिमैत्री संरचना र स्मार्ट सिटी निर्माणमा ललितपुर महानगर [भिडिओ]

11
  • सविता नयाँजू

ललितपुर, १४ फागुन । ललितपुर महानगरपालिका प्रविधिमैत्री बन्दै स्मार्ट सिटी निर्माणको कामलाई गति दिएको छ । महानगरले नेपालमै पहिलो पटक इन्टेलिजेन्ट ट्राफिक लाइट जडान गरेर नयाँ कामको थालनी गरिसकेको छ ।

महानगरपालिका, सडक विभाग र ट्राफिक प्रहरी तीन निकायको समन्वयमा लाइट जडान भएपनि नयाँ प्रविधिमा अभ्यस्त नहुँदा केही समस्या आइरहेको महानगरपालिकाका सहरी विकास प्रमुख श्रीकुमार महर्जनको भनाइ छ ।

बत्तीले गाडीहरुको चापलाई रिड गरेर भोलिको लागि तालिका बनाउने हुँदा भिआइपीको सवारी हुँदा पनि लाइट बन्द नगर्ने पनि उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘इन्टेलिजेन्ट ट्राफिक लाइटको सिस्टम नेपालमा अहिलेसम्म नभएको प्रविधि हो । यो आफैँ रिड गरेर चल्छ, कुपण्डोलबाट ललितपुरभित्र आएपछि लगभग ६ स्थानमा जडान भएको छ । इन्टेलिजेन्ट ट्राफिक लाइटले सुरुमा गारो भएको थियो । महानगरपालिका, सडक विभाग र ट्राफिक प्रहरीबीच समन्वयमा हुनुपर्ने हो । हामीले जडान त गर्‍यौँ तर बानी नपरेको हुनाले अलि समस्याहरु आएको थियो ।’

यसका साथै महानगरलाई स्मार्ट सिटी बनाउनको लागि थुप्रै कामहरु भइरहेको पनि उहाँले जानकारी दिनुभयो । पुल र बत्तीको काम पहिलो प्राथमिकतामा राखिएको र कुसुन्ती साथै धोबीघाटमा पुल निर्माण भइरहेको उहाँले बताउनुभयो ।

यस्तै, महर्जनका अनुसार अहिले पार्किङ्को धेरै समस्या भएको कारण यसमा पनि काम भइरहेको छ र सांस्कृतिक क्षेत्रहरुमा सवारी साधनहरुलाई कसरी कम गर्ने अथवा चलाउन नै नदिने भन्ने कुरामा पनि अभ्यासहरु भइरहेको छ ।

उहाँले भन्नुभयो, ‘स्मार्ट सिटीको काम धेरै भइरहेको छ तर काम बाँकी छ । सबैभन्दा ठुलो कुरा भनेको हामीले दिने सेवामा हो, संरचनाहरुको काम त भइरहेको छ । पाटन अस्पताल अगाडि पनि पुल बनाउन खोजिरहेका छौँ । विशेषगरी पार्किङलाई व्यवस्थित गर्ने प्रयासमा छौं । हाम्रो सांस्कृतिक क्षेत्रहरुमा सवारी साधनलाई कसरी कम गर्ने अथवा चलाउन नै नदिने भन्ने कुरामा पनि अभ्यासहरु भइरहेको छ ।’

उहाँले सातदोबाटो–चाँपागाउँ र एकान्त कुना क्षेत्रमा फ्लाई ओभरको कामलाई सरकारले गर्न सके राम्रो हुने बताउनुभयो ।

यसका साथै, इन्टेलिजेन्ट ट्राफिक लाइट पनि एकान्तकुना हुँदै भैँसेपाटी र त्यहाँभन्दा माथि चुनिखेलसम्म, दोस्रो रुट जवालाखेलबाट सातदोबाटो हुँदै गोदावरी जाने बाटोमा र पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्कोसम्म गरी तीन ठाँउमा जडान गर्ने प्रोजेक्ट अघि बढ्ने उहाँले बताउनुभयो ।

महानगरपालिकाले संस्कृती र परम्परालाई संरक्षण गर्ने उद्देश्यले विभिन्न योजनाहरु पनि अघि सारेको उहाँले बताउनुभयो । पुरानोशैलीको घरलाई भूकम्परहित घर कसरी बनाउन सकिन्छ भन्ने कुरामा अध्ययन भइरहेको र यसको वैज्ञानिक रिपोर्ट पनि केही महिनामा नै आउने उहाँले बताउनुभयो । हुँदा कार्यविधि अथवा नियम बनाएर नै पुरानोशैलीको घरको नक्सा पास गर्ने प्रक्रियामा रहेको पनि महर्जनको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हाम्रा पुराना शैलीका घरहरु बनाउने योजनामा केही समस्या आएको छ । यसमा हामी ब्याक नै भएको अवस्था छ । त्यही भएर पनि पुरानो घरप्रतिको इच्छा घट्दै गइरहेको छ । तर, कसैले माटोको नै बनाउँछौँ भन्ला, कसैले इँट्टाको नै बनाउछु भन्यो भने त्यस कुरामा अध्ययन गरिरहेका छौँ । तिनीहरुलाई कसरी एड्रेस गरेर भूकम्परहित घर बनाउन सकिन्छ भन्ने कुरामा अध्ययन गरिरहेको छौँ । त्यसको वैज्ञानिक रिपोर्ट एक दुई महिनामा नै आउँछ । कार्यविधि अथवा नियम नै बनाएर नै नक्सा पास गर्ने प्रक्रियामा छौँ ।’

उहाँका अनुसार पुरानो घर बनाउँदा पैसा सकिने भन्दा पनि जोखिम हुन्छ । सम्पदा क्षेत्रमा पाटीपौवा, मठ मन्दिरहरु बनाउन दक्ष जनशक्ति समस्या भएकाले पुराना शैलीका घर बनाउन पनि दक्ष जनशक्तिको अभाव रहेको सुनाउनुभयो । -नेपाल न्यूज बैंक

Share This:
सम्बन्धित खबर
Loading...