काठमाडौँ, ८ फागुन । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले ओमानको भ्रमणका क्रममा इरानका परराष्ट्र मन्त्रीसँग विपिन जोशीको अवस्थाबारे छलफल भएको बताउनुभएको छ ।
बिहीबार त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्नुहुँदै उहाँले इरानका परराष्ट्र मन्त्रीले विपिन जोशीको बारेमा गम्भीर भएर लागेको जानकारी गराएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मैले इरानको परराष्ट्र मन्त्रीसँग पनि कुरा गरेँ । त्यो कुरा विपिन जोशीको नै बारेमा मूल छलफल भएको थियो । उहाँले पनि म प्रयास गर्छु तर अझै पनि तपाईहरुको र थाईको एक जनाको अवस्थाको बारेमा राम्रो जानकारी आएको छैन । केही सूचनाहरु मागेका छौँ र गम्भीर भएर लागेका छौँ भन्नुभएको छ । यही कुरा कतारको प्रतिनिधिहरुले पनि गर्नुभएको थियो ।’
यसको साथै उहाँले ओमानसँग कागजको बिक्रीलाई व्यवसायिक गर्ने र पर्यटकको क्षेत्रलाई सुधार गर्ने बारेमा दुईवटा एमओयुहरु साइन भएको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले ओमानसँग दुईवटा एमओयुहरु पनि साइन गरेका छौँ । एउटा हाम्रो कागजहरुलाई कसरी बिक्री र व्यवसायिक गर्ने भन्ने कुरामा आउने दिनमा काम हुन्छ होला र अर्को पर्यटकको क्षेत्रमा पनि एमओयू गरेका छौँ । पर्यटकको क्षेत्रमा नेपालसँग एकदमै नजिक भएर काम गर्न मन भएको कुरा पनि राख्नुभएको छ ।’
यसका साथै डाक्टर, इन्जिनियरहरु जस्तो मानिस पनि बाहिर गएर श्रमिकको रुपमा काम गर्नुपर्ने अवस्था पनि थाहा भएको छ । यसबारे पनि श्रम मन्त्रालयसँग बसेर कुरा गर्ने उहाँको भनाइ छ ।
यस्तै, उहाँले घरेलु कामदारको रुपमा महिलाहरु जाने विषयलाई पुनःविचार गरेर एउटा टिम बनाएर फिल्ड रिसर्च गरेर नै काम गर्ने पनि बताउनुभयो ।
परराष्ट्रमन्त्री ओमानका विदेशमन्त्री सायद बद्र बिन हमाद बिन हमूद अल बुसैदीको निमन्त्रणामा एक साता लामो भ्रमणका लागि चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओमान भ्रमणका लागि जानुभएको थियो ।