सेवा निवृत्त सेना र प्रहरीको अनुभवबाट समाजले लाभ लिन सकेन : माधव ढुङ्गेल

17

रामेछाप, ७ फागुन । नेकपा (एमाले) संगठन विभाग सचिव माधव ढुङ्गेलले भूतपूर्व सेना र प्रहरीलाई देशले उपयोग गर्न नसकेको बताउनुभएको छ ।

एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन रामेछापको दोस्रो जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई मंगलबार मन्थलीमा सम्बोधन गर्नुहुँदै ढुङ्गेलले नयाँ पुस्ताका युवा र शैक्षिक संस्थाको प्रशिक्षकका रूपमा पूर्वसैनिक र प्रहरी परिचालन गर्न सकिने बताउनुभयो ।

युवा, विद्यार्थी र समुदायलाई अनुशासनको पाठ पूर्वसैनिक र प्रहरीले सिकाउन सक्ने उनको धारणा छ । ‘सेवा निवृत्त सेना र प्रहरीको अनुभवबाट समाजले लाभ लिन सक्नु पर्दछ’, ढुङ्गेलले भन्नुभयो ।

मबाट हामी बन्नको लागि कम्युनिस्ट भएको बताउँदै उनले मानिसको सीपले समाज परिवर्तन गर्न सकिन्छ भनेर लागेकाहरू मार्क्सवादी भएका स्पष्ट पार्नुभयो । यस्तो संगठनको चेनभित्र बस्न तयार भएकाहरू लेनिनवादी भएको उहाँको भनाइ छ ।

भ्रष्टाचार आज देशको प्रमुख चुनौती भएको बताउँदै ढुङ्गेलले कष्ट व्यहोरेर, देश विदेश घुमेर, अनुशासनको पाठ सिकेर आएका भूतपूर्व सेना र प्रहरीले नेपालमा सुशासन अभिवृद्धिका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने उहाँको विश्वास छ । देशलाई शिरमा राखेर काम गर्ने संगठन नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन हुनसक्ने ढुङ्गेलको धारणा छ ।

देशलाई समृद्धिको बाटोमा लैजाने राष्ट्रिय शक्ति नेकपा (एमाले) भएको बताउँदै ढुङ्गेलले यो अभियानमा भूतपूर्व सैनिक र प्रहरीको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो । कम्तीमा पाँच वर्ष कुनै पनि राजनीतिक दलले एकल सरकार सञ्चालन नगर्दासम्म कसले के काम गर्छ भन्ने कुरा थाहा नहुने उहाँले बताउनुभयो । ढुङ्गेलले एमालेलाई पाँच वर्षका लागि एकल बहुमत दिएर हेर्न पनि आग्रह गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...