काठमाडौँ, ३० माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रालयको प्रशासन नै फितलो भएको बताउनुभएको छ ।
बुधबार २०८१/८२ को दोस्रो त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बोल्नुहुँदै उहाँले मुख्य समस्या नै प्रशासन भएकाले यसलाई सबैले मिलेर सुधार गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो प्रशासन एकदमै फितलो छ । मुख्य समस्या नै हाम्रो प्रशासन हो । यसमा हामी सबैले मिलेर सुधार गरौँ । योसँगै नीतिगत कुराहरु पनि छन् । यसलाई हामी मिलाउने काम गरिरहेका छौँ । यसमा हुलाक सेवा, रासस र गोरखापत्रको पनि नयाँ ऐन बनाउनुपर्ने छ । यो चाँडो हुन सकिरहेको छैन ।’
यसैगरी, उहाँले हाम्रो विरासत नै फोहोर थुपार्ने प्रवृत्तिको भएको बताउनुभयो । उहाँले आफ्नो मन्त्रालयलगायत जहाँ पनि कर्मचारी र बजेटको पनि अभाव हुने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो विरासत नै गञ्जागोल छ । एकअर्कालाई आरोप प्रत्यारोप लगाउने र फोहोर थुपार्ने प्रवृत्तिको छ । यसलाई हामीले सरसफाई गर्नुपर्ने छ । हाम्रो मन्त्रालयलाई धेरै बजेट नै राखेको छैन । जहाँ पनि कर्मचाीको अभावसँगै बजेटको पनि अभाव हुन्छ ।’
साथै, उहाँले विद्यमान जनशक्ति भएपनि कार्य क्षमता र कार्यदल एकदमै कमजोर रहेको बताउनुभयो । उहाँले कार्य क्षमता र कार्यदल कमजोर भएकाले लिडरसिपको भूमिका कमजोर देखिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामी जति विद्यमान जनशक्ति छ त्यसको चाहिँ कार्य क्षमता र कार्यदल एकदमै कमजोर छ । यसमा राम्रो गर्नलाई ट्रेनिङ भएन कि के भएन यसले गर्दा कार्य क्षमता कमजोर भएको हो कि ? आम रुपमा यो समस्या हो । यसमा लिडरसिपको भूमिका कमजोर देखियो । लिडरसिपहरुले ध्यान दिनुपर्ने अवस्था आएको छ ।’