काठमाडौँ, २३ माघ । काठमाडौँ महानगरपालिकाले पद्मकन्या बहुमुखी क्याम्पसमा जडान गरेको पैदलयात्री आफैँले बटन थिचेर ट्राफिक लाइट बाली बाटो काट्न सकिने ‘पेलिकन क्रसिङ’ प्रविधि सञ्चालनमा आएको छ ।
दुई महिना अगाडि महानगरपालिकाले पद्मकन्या बहुमुखी क्याम्पससहित विभिन्न ३६ स्थानमा स्थापना गरेको थियो । पद्मकन्या कलेजमा भने आजदेखि सञ्चालनमा ल्याइको काठमाडौँ महानगरपालिका जनसङ्ख्या अध्ययन विभागीय प्रमुख भगवती सेडाईले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘जडान हामीले २ महिना अगाडि नै गरेका थियौँ । आजदेखि सञ्चालन गर्दै छौँ ।’
त्यस्तै, उहाँले सडक सुरक्षाका विभिन्न मापदण्डहरु रहेकोमा सडक प्रयोगकर्तामध्ये पहिलो र ठुलो अधिकार पैदल यात्रीलाई हुने बताउनुभयो । सडक दुर्घटनाबाट कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले उक्त ‘पेलिकन क्रसिङ’ सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘सडक सुरक्षाका विभिन्न मापदण्डहरु छन् र सडक प्रयोगकर्तामध्ये पहिलो र ठुलो अधिकार पैदल यात्रीलाई हुने गर्छ । त्यसैलाई मध्यनजर गर्दै यो राखेका हौँ । यसको उद्देश्य भनेको सडक दुर्घटनाबाट कसैले ज्यान गुमाउन नपरोस् भन्ने हो ।’
त्यस्तै पद्मकन्याकी छात्रा सन्ध्या बस्यालले ‘पेलिकन क्रसिङ’ प्रविधि जडानसँगै कलेज अगाडि हुने दुर्घटनाको जोखिम न्यूनीकरण भएको भन्दै धन्यवाद दिनुभयो ।
उहाँले भन्नुभयो, ‘पेलिकन क्रसिङ’ प्रविधि जडान गरिदिनुभएको छ यो एकदमै उदाहरणीय छ । कलेज अगाडि जहिले पनि एकदमै दुर्घटना हुने सम्भावना हुन्थ्यो । ठ्याक्क सही समयमा सही ठाउँमा यो जडान गर्दिनुभएको छ । त्यसका लागि धन्यवाद दिन चाहन्छु । यसको सिस्टम फरक छ । तर, यो हाम्रो सुरक्षाका लागि नै भएकाले विस्तारै सिक्नुपर्छ ।’