काठमाडौँ, १६ माघ । राष्ट्रिय खोप कार्यक्रम तथा एचपिभी खोप अभियानका लागि अभिनेत्री मनिषा कोइरालालाई सद्भावना दूत घोषणा गरिएको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै कोइरालालाई सद्भावना दूत घोषणा गरिएको हो ।
सोही क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालका महिलाहरु सबैभन्दा बढी पाठेघरको क्यान्सरले प्रभावित भएको भन्दै भावी पुस्तालाई यो समस्याबाट मुक्त बनाउनका लागि एचपिभी खोप उपलब्ध गराउने र देशव्यापी अभियानका रुपमा अगाडि लैजाने उद्देश्यले कार्यक्रमको सुरुवात गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले नेपाललाई सबै खाले क्यानसर मुक्त बनाउने अभियान कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर काम गरिरहेका छौँ । उपचारको क्षेत्रमा मात्र होइन रोकथामको क्षेत्रमा पनि काम गर्न जरुरी छ । नेपालका महिलाहरु सबैभन्दा बढी पाठेघरको क्यान्सरले प्रभावित भएको देखिन्छ । हाम्रो भावी पुस्ता यो समस्याबाट मुक्त होस भनेर हामीले एचपिभी खोप उपलब्ध गराउने र देशव्यापी अभियानका रुपमा यसलाई अगाडि लानको लागि यो कार्यक्रमको सुरुवात गरेका हौँ ।’
यसका साथै उहाँले नेपालमा ६ कक्षा देखि १० कक्षासम्ममा अध्ययनरत १६ लाख १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो खोप उपलब्ध गराउन लागेको पनि बताउनुभयो ।
यस्तै, नायिका मनिषा कोइरालाले पनि आफैँ पनि क्यान्सरबाट निको भएको भन्दै क्यान्सरको रोकथाम गरेर ज्यान बचाउन सक्यौँ भने एकदमै ठुलो काम हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘खोप किन आवश्यक हुन्छ र यसबाट के फाइदा हुन्छ भनेर भन्नका लागि म यसमा जोडिएको छु । किनभने म आफैँ पनि क्यान्सरबाट निको भएर आएको मान्छे हो । त्यसकारण स्वास्थ्य कति महत्त्वपूर्ण छ भन्ने कुरा मलाई थाहा छ । हामीले क्यान्सरको रोकथाम गरेर ज्यान बचाउन सक्यौँ भने यो एकदमै ठुलो कुरा हो ।’