- दान बहादुर बुढा
मुगु, ३ माघ । हिमाली जिल्ला मुगुमा अत्याधिक चिसो बड्न थालेपछि सोरु गाउँपालिका वडा नम्बर ६ मा रहेको तातोपानीमा नुहाउन आउनेहरुको भीड बढेको छ ।
तातोपानी नुहाउँदा शरीरमा भएका विभिन्न अंगहरु, जोर्नी, छाला चिलाउने, शरीर झमझमाउने, बाथरोग, टाउको, पेट दुखाइलगायतका अन्य रोग ठिक हुने विश्वास लिइन्छ । विशेषगरी पुष र माघ महिनामा तातोपानीमा नुहाउँदा राम्रो हुनेमा स्थानीयबासी विश्वास गर्छन् । तातोपानी नुहाउन विश्वासमा २० देखि २५ जना मानिस पुग्ने गरेका छन् ।
‘तातोपानीमा नुहाउँदा आनन्द आउँछ । सन्चो महसुस हुन्छ । पाँच पटकसम्म नुहाएको छु । जति नुहायो त्यतिनै निरोगी भइन्छ । यहाँका स्थानीय तहले बाटो, नुहाउने धारा, कुण्डलगायतमा नुहाइसकेपछि कपडा फेर्ने घर, शौचालय लगायतका पूर्वधारमा व्यवस्था गरिएको भए राम्रो हुनेथियो,’ स्थानीय कृष्ण बोहोराले भन्नुभयो ।
तातोपानीमा नुहाउने स्थानको प्रचार प्रसार नभएको पनि स्थानीयको गुनासो छ । प्रचार प्रचार नहुँदा ओझेलमा परेको छ । धेरैजसो मान्छेलाई मुगुको सोरुमा तातोेपानी छ भन्ने नै थाहा छैन । स्थानीय सरकारले डिपिआर भनेर आठ लाखभन्दा बढी खर्च गरिसक्यो । डिभिजन वन कार्यालयले पाँच लाख र अन्य सरकारी निकाय एवम् पर्यटन विकास समितिमार्फत् लाखौँ खर्च भइसकेको भएपनि प्रचार नभएको गुनासो छ ।
सोरु गाउँपालिका–९ का सर्जन बहादुर शाहीका अनुसार तातोपानी क्षेत्रको प्रचारप्रसार हुनसके पर्यटक बढ्ने र रैथाने वस्तुको बिक्री बढ्ने छ । तातोपानीमा विषेशगरी बुढाबुढी, महिला, बालबालिकाहरु बढी आउने गरेका छन् ।