पृथ्वी जयन्ती मनाउन पनि राजनीतिक सौदाबाजी गर्नुपर्ने अवस्था आयो : राजेन्द्र लिङ्देन

10

काठमाडौँ, २५ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्ती मनाउन पनि सौदाबाजी गर्नुपर्ने अवस्था रहेको बताउनुभएको छ । उहाँले प्रधानमन्त्री बनाउन सहयोग गर्छौँ पृथ्वी जयन्ती चाहिँ मनाऔँ भन्नुपर्ने अवस्था आएको बताउनुभयो ।

बिहीबार काठमाडौँमा आयोजित ‘नेपाल र नेपालीको पहिचानमा पृथ्वीनारायण शाहको योगदान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै उहाँले क्यालेन्डरमा लेख्न लगाए पनि सरकारले पृथ्वी जयन्तीको अवसरमा एउटा औपचारिक कार्यक्रम गर्ने हिम्मत समेत नगरेको बताउनुभयो । उहाँले यस्तो हिनताबोध गर्ने व्यक्तिहरुबाट देशको संरक्षण नहुने भन्दै आक्रोश पोख्नुभयो ।

उहाँले भन्नुभयो,‘नेपाल भन्ने देश नभएको भए आज रामचन्द्र पौडेल कहाँको राष्ट्रपति हुनुहुन्थ्यो ? केपी शर्मा ओली कुन देशको प्रधानमन्त्री हुनुहुन्थ्यो ? शेर बहादुर देउवा पाँच पटक प्रधानमन्त्री हुनुभयो अब छैटौँ र सातौँ पटकका लागि पर्खेर कुन देशको लागि प्रधानमन्त्री हुन बस्नुहुन्थ्यो होला ? तर पृथ्वी जयन्ती मनाउन प्रधानमन्त्री बनाउँछौँ, सहयोग गर्छौँ पृथ्वी जयन्ती चाहिँ मनाउनुपर्छ है भनेर सौदाबाजी गर्नु पर्ने अवस्था छ । क्यालेन्डरमा त लेख्न लगाइयो तर आज सरकारले पृथ्वीजयन्तीको अवसरमा एउटा औपचारिक कार्यक्रम गर्ने हिम्मत समेत गरेको छैन । यस्तो हिनताबोध गर्ने व्यक्तिहरुबाट मुलुकको संरक्षण कसरी हुन सक्छ ?’

त्यस्तै, उहाँले देशको निर्माणमा पृथ्वी नारायण शाहको नेतृत्व र सबै पुर्खाको योगदान रहेको भन्दै अहिले गलत व्याख्या गर्ने र विभाजित गर्ने प्रयासहरु भइरहेको बताउनुभयो ।

पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउने र पृथ्वीनारायण शाहलाई आदर्श पुरुषको रुपमा मान्ने कुरामा कुनै हिनताबोध गर्न नहुने उहाँको भनाइ छ ।

त्यस्तै, उहाँले नेपाली राजनीतिमा क्रियाशील व्यक्तिहरुले पृथ्वीपथलाई आफ्नो पथ ठानेर हिँडेको भन्दै पृथ्वीनारायण शाह नभएको भए आज नेपाल भन्ने राष्ट्र आफ्नो परिचय पनि पाउने नसक्ने बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...