प्रधानमन्त्रीसँगको मेरो सम्बन्धलाई लिएर गलत प्रचार भयो : अर्थमन्त्री पौडेल

57

काठमाडौँ, २३ मंसिर । अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्रीसँग आफ्नो सम्बन्ध बिग्रिएको भन्ने गलत प्रचार गरिएको भन्दै आपत्ति जनाउनुभएको छ ।

आइतबार पिजे क्लबले बबरमहलस्थित आर्ट ग्यालरीमा आयोजना गरेको फोटो प्रदर्शनीमा अर्थमन्त्री पौडेलले प्रधानमन्त्रीसँग आफ्नो सम्बन्ध बिग्रिएको भनेर प्रचार भएकोमा आपत्ति जनाउनुभयो ।

उहाँले भन्नुभयो,‘यसमा सच्चाइको एउटा सानो अंश पनि छैन । त्यस्तो धन्दामा रमाउने साथीहरुलाई मेरो आग्रह छ– मनको लड्डु घिउसँग खानुहोस् । यो भन्दा थप भन्नु पर्ने केही छैन । यस्तो खालको अविश्वासनीय समाचारले कसैलाई पनि फाइदा गर्दैन । ’

उहाँले आफूहरु सरकारमा आउँदा समस्या र चुनौतीको चाङ रहेको भन्दै त्यसैलाई पन्छाउने कोसिसमा सरकार रहेको बताउनुभयो । अर्थतन्त्रको तरलता अहिले सहजताको अवस्थामा ल्याइ अर्थतन्त्रलाई अझ गतिशील बनाउने दिशामा सरकार रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो,‘हामी सरकारमा आउँदै गर्दा विरासतमा केही बोझहरु थिए । समस्याको चाङ थियो । त्यसलाई पन्छउँदै जाने काम गरिराखेको छौँ । क्रमशः विद्यमान चुनौतीहरुलाई, समस्याहरुलाई विस्तारै– विस्तारै पन्छाउने कोसिस गरिरहेका छौँ । हिजो बैंकको ब्याजदर बढी भयो भन्ने गुनासो थियो, सिंगल डिजिटमा झार्न सफल भएका छौँ । तरलता सहजताको अवस्थामा छ । हामी उत्पादकत्व वृद्धि, रोजगारी सिर्जनालगायतका क्षेत्रमा काम गरिरहेको छौँ । अर्थतन्त्रलाई अझ गतिशील बनाउने दिशामा हामी लागेका छौँ ।’

Share This:
सम्बन्धित खबर
Loading...