काठमाडौँ, ५ मंसिर । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्रिय उडान भर्ने हवाई कम्पनीहरुलाई २४ घन्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिनुभएको छ ।
हवाई भाडावृद्धि नियन्त्रणबारे मन्त्रालयमा बोलाएको सरोकारवाला वायु सेवा कम्पनीहरुलाई उच्च मूल्यको भाडा लिएको भन्दै त्यसबारे पुनःविचार गर्न निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले नागरिकहरुकै सेवा भनेर हवाई कम्पनीहरुलाई सहुलियत दिएका थियौँ । तर, त्यसको उपहास भएको छ, राज्य र नागरिकप्रतिको दायित्वलाई बेवास्ता गरेर गैरजिम्मेवारीपन देखाइएको छ । नागरिकमाथि प्रतिष्ठित व्यापारी र एयरलाइन्सले द्वन्द्व व्यापारजस्तो गर्नुभएको छ । यस विषयले म निकै दुःखी भएको छु ।’
यसअघि हवाई सेवा कम्पनीहरुले नियामक निकायसँगको छलफलमा भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति गरिएको भए पनि त्यसको कार्यान्वयन नगरेको भन्दै पर्यटनमन्त्री पाण्डेले आक्रोश व्यक्त गर्नुभयो ।
हवाई भाडा वृद्धिबारे गुनासो बढेपछि परराष्ट्र, श्रम र पर्यटनमन्त्रीबीचको बैठकले समेत हवाई भाडा नियन्त्रणका लागि छलफल गरिएको स्मरण गराउँदै उहाँले राज्य र नागकिरप्रति जिम्मेवार बन्न एयरलाइन्सलाई आग्रह पनि गर्नुभयो ।
मन्त्री पाण्डेले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले समेत अचाक्ली हवाईभाडा लिएकोप्रति सचेत पनि गराउनुभयो ।
नागरिकहरुले हवाई भाडा वृद्धिबारे गरेको गुनासोले आफूलाई बढी चिन्तित तुल्याएको बताउँदै २४ घन्टाभित्र बिक्रि गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिनुभयो ।
पर्यटनमन्त्री पाण्डेले एयरलाइन्सले हवाई भाडा वृद्धिबारे पुर्नविचार नगरे सरकारले कडा कदम चाल्ने स्पष्ट पार्नुभयो ।
मन्त्रालयका सचिव डा.गणेश पाण्डेयले सम्झौताअनुसार एयरलाइन्सले किन अटेर गरेको भन्दै प्रश्न पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘आफूले गरेको निर्णय आफैँ लागु गर्ने कि नियमन गर्न कठोर बन्नुपर्ने हो । सम्झौता किन लागु नगरेको । तपाईंहरुले यदि निर्णय कार्यान्वयनमा अटेर गर्नुभयो भने सेवा दिन आउने नयाँ हवाई कम्पनीका लागि सूचना आह्वान गर्न सकिन्छ ।’
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीले एयरलाइन्सले हवाई भाडा नियन्त्रणसम्बन्धी पाँच बुदे सहमति कार्यान्वयन नगरेको र हवाई टिकटमा कृतिम अभाव देखाउँदै कालो बजारी गरिरहेकाले त्यसलाई नियन्त्रण गरेरै छोड्ने अठोट व्यक्त गर्नुभयो।
छलफलमा सहभागी एयरलाइन्सका प्रतिनिधिले हवाई भाडाबारे सत्यतथ्य जानकारी दिन आनाकानी गरेका थिए । एयरलाइन्सले चार गुणा बढी भाडा लिएको भन्दै आलोचना भएको थियो । छलफलमा नेपालमा सेवा दिँदै आएका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका प्रतिनिधिहरुको उपस्थिति थियो ।