काठमाडौँ, १७ कात्तिक । राष्ट्रिय सम्वत्को रुपमा मान्यता पाएको नेपाल सम्वत्को ऐतिहासिक र मौलिक महत्त्व छ । आफ्नै अस्तित्व र पहिचान बोकेको नेपाल सम्वत् विदेशी तिथि मितिका कारण ओझेलमा परेको भनिए पनि पछिल्ला दिनहरुमा यसको महत्त्व थप बढ्दै गएको छ । नेपाल सम्वद् कात्तिकमा सुरु हुने होइन । चाहे हिन्दु धर्मको होस् चाहे बौद्ध धर्मको होस् सबै धर्म संस्कृतिहरु एक दुईवटा बाहेक सबै धर्म संस्कृतिका प्रचलनहरु चन्द्रकला, चन्द्रमासअनुसार अगाडि बढ्ने हो । जसमा १२ महिना हुन्छ, त्यसमा पनि हरेक महिना शुक्ल पक्ष र कृष्ण पक्ष भन्ने हुन्छ । शुक्ल पक्ष भनेको चन्द्र उद्य भएर वृत्तमा चन्द्र उद्य हुने समय हो भने कृष्ण पक्ष भनेको घट्दै घट्दै गएर औँशी हुने हो ।
नेपालको धर्म र संस्कृतिमा कहिलेकाही विवाद आउँछ । त्यसो हुनुको कारण पहिलेपहिले चन्द्र शम्शेरको पालाभन्दा अगाडि कृष्णपक्षलाई अगाडि राखेर पंचाङ्ग बनाइँदैन थियो । शुक्ल पक्षलाई अगाडि राखेर बनाउथ्यो तर चन्द्र शम्शेरको पालामा १३ महिनाको तलब दिनुपर्ने भो भनेर उहाँले नेपाल सम्वत्लाई सरकारी प्रयोगबाट हटाएर विक्रम सम्वत्लाई लागु गर्नुभयो । त्यसपछि कृष्णपक्षबाट पन्चांग निर्माण गर्न थालियो । अहिले हामी १६ गतेसम्म ‘कौला गा’भनेर कृष्णपक्षको रुपमा लिन्छौँ । तर कात्तिक १६ गतेसम्म चाडपर्वको हिसाबले चाहिँ आश्विनकै रुपमा लिने गर्छौँ ।
कुनै ब्राम्हण पण्डितले पनि अध्यवाक्य भनेर पूजा सुरु गर्नु अगाडि बाचन गर्छन् । त्यो वाचन गर्ने बेला पनि पण्डितले आश्विन कृष्ण ‘कौला गा’ भनेर भन्छन् । तर पात्रो हेर्ने हो भने कात्तिक कृष्णपक्ष भनेर लेखिएको हुन्छ । त्यसले पनि अलिकति भ्रमित पारेको छ । दिपावली, दिवाली, तिहार, त्रिहार र स्वन्ति नखः यि चारपाँच प्रकारका चाडहरु कहिले मनाइन्छ भन्दा ‘कौला गा’ त्रियोदशीका दिनदेखि चौथीसम्म । कौला गा भनेपछि चन्द्रमासको अन्तिम महिनाको कृष्ण पक्ष भयो । यसको निरन्तरता कहिलेसम्म हुन्छ भन्दा (कच्ला ठो)चौथीसम्म हुन्छ । त्यसकारण कात्तिकमा होइन कौला गा चन्द्रमास अनुसार अन्तिम महिना र नयाँ वर्षको प्रारम्भमा हुने चाड नै स्वन्ति, दिपावली, दिवाली, तिहार, त्रिहार हो । दिपावली र दिवालीमा भारतमा विशेषगरी दिवाली भन्ने चलन छ ।
नेपाल सम्वत्को अहिलेको हिसाबमा अब आउने प्रतिपदाबाट नेपाल सम्वत् ११४५ प्रारम्भ हुन्छ । यो ११४५ वर्ष अगाडि सुरु भएको देखियो । तत्कालीन समयमा पनि नेपाल संम्त् प्रचलनमा थिए । यसलाई देश सम्वत्, देश भाषाको सम्वत् भन्ने प्रचलन छ । यसलाई व्यवहारिक प्रयोगको आधारमा नामाकरण गरिने एकातिर छ तर यो प्रारम्भमा लागु हुँदा नै शंखधर शाख्वाले नेपाल सम्वत् भनेर नै लागु गरेका हुन् । अरु सम्वत्को रुपमा प्रचलनमा थिएन । तर, राज्यले प्रयोग गरेपछि राज्य भाषा भने जस्तै देश सम्वत् पनि भनेको पाइन्छ ।
शंखधर शाख्वाले प्रचलनमा ल्याएको नेपाल सँवत् बीचमा ८० वर्ष रोकिएर फेरि प्रचलनमा आएको हो । उहाँको प्रतिमा पाटनको विभिन्न ठाउँमा रहेका छन् । पाटनका तन्डुकारहरुले हाम्रो पूर्खा भनेर भनेको अवस्था पनि छ । यदी शंखरधर शाख्वा तन्डुकार समुदायको नै हो भने उनी चामलको व्यापारी थिए । तर, उहाँ एक प्रतिष्ठित व्यापारी पक्कै थिए । एकदिन राति उहाँ व्यापार गर्ने शिलशिलामा जाँदा कसैले बालुवा बोकेर आइरहेको देखे । भक्तपुरको राजाले लिन पठाएको त्यो बालुवालाई काष्टमण्डपको दक्षिणतर्फबाट रामघाट जाने बाटोमा एउटा फल्चा छ त्यहीँ खन्याउन लगाएर बालुवा बोक्नेहरुलाई पैसा दिएर अर्को बालुवा लैजाउ भनेको ऐतिहासिक कथ्य सुन्न पाइन्छ । भोलिपल्ट राजाकोमा लगिएको बालुवा सुन भएको थियो रे । शंखरधर शाख्वाले त्यो सुनलाई बेच्न पनि सक्थे होला तर उनले त्यसलाई कुटनीतिक तरिकाले राज्यमा सबै जनताको लागि सदुपयोग गर्छु भनेर लागेको पाइन्छ । त्यही सुनमार्फत् देशभर रहेका सम्पूर्णको ऋण तिरेर सबैलाई ऋणमुक्त गरेको इतिहास छ ।
तण्डुकारहरुले आफ्नो पूर्खा भनेर कुल देवताको रुपमा उहाँलाई मानिरहेका छन् । तर, अनुसन्धानले अरु पनि देखाउला तर शंखधर शाख्वा नेवा नै हो भनेर भन्न सकिन्छ । नेवार व्यापारीहरुमा एउटा अर्को पनि प्रचलन छ । आफू अलिकति धन कमाएपछि सम्पन्न भएपछि पाटी, पौवा, पोखरी, इनार, धारा बनाउने प्रचलन छ । त्यो जनहितको लागि हो । जनहितको लागि हुने हुँदा शंखधर शाख्वाले नेपाल सम्वत् भनेर प्रचलनमा ल्याएको हुनुपर्छ ।
विश्वमा एउटै सम्वत् छ, नेपाल सम्वत् हो । नेपाल सम्वत् र म्हः पूजाको सन्दर्भमा शंखधरले नेपाल सम्वत् कहिलेबाट सुरु गरे भनेर अध्ययन गर्दा म्हः पूजाको दिनबाट प्रचलनमा ल्याएको तथ्यहरु भेटाइछ । नेपाल सम्वत् त थियो तर महिना र गते थिएन । जुनबेला शंखधरले प्रचलनमा ल्याएका थिए । त्यसपछि प्रचलनमा आउँदा आउँदै म्ह पूजाको दिनबाटै नयाँ वर्ष प्रारम्भ भएको मानियो ।
चन्द्रमासको तिथिअनुसार नयाँ वर्ष सुरु भएको मानिन्छ । चन्द्रमासमा तिथि भनेपछि गते जस्तै भयो त्यसपछि सजिलै स्वरुपमा नेपाल सम्वत्भित्र चन्द्रमासको कौलासम्मको १२ महिनालाई भित्र्याइयो । तीथिलाई गतेको स्वरुपमा प्रचलनमा ल्याइयो । म्हपूजा भनेको प्राचिन समयमा नै जान सकिन्छ । म्हपूजाकै दिनमा नेपाल सम्वत्लाई प्रचलनमा ल्याइएको हो । म्हपूजाको दिन भनेको नेवार समुदायले चथा भनेर मनाउँछन् । म्हपूजाको दिन आफ्नो शरीरको पूजा गरेर मन र बोलीलाई शुद्घ गर्ने दिन हो । त्यस कारण पनि त्यही दिनलाई रोजेर नेपाल संवतको प्रारम्भ भएको हुनुपर्छ ।
म्हपूजाको तथा नेपाल संवत प्रारम्भ भएको दिनमा बेलुकाको म्हपूजाको साइतमा हनुमान ढोकाको ठुलो घन्टी ३६५ पटक बजाउनुपर्ने प्रचलन छ । हरेक दिन बिहान ९ बजे घन्टी १०८ पटक बज्छ । यो शुभ दिनलाई नेपाल संवत लागु गरेको हो । महपूजा भनेको प्राचिन प्रचलन हो ।
गुरुमण्डलाचार्य अनुसार अरु पूजा गर्ने बेलामा खाली पेटमा गर्ने गरिन्छ । म्हपूजाको दिनमा बिहान शुद्धिकरण गरेर आफ्नो दैनिक खाना खाइसकेपछि बेलुका म्हमह गरिन्छ । म्ह पूजा गर्ने भनेको शरीरको पूजा गर्ने हो । पूजा गर्ने भनेको हिन्दु र बौद्ध धर्मको पूजा आकाशजमिन फरक छ । पूजा गर्ने तरिका त्यही हो चढाउने वस्तु त्यही हो तर अर्थ फरक हुन्छ । म्ह पूजा भनेको आफ्नो शरिर शुद्धिकरण गरेर मन शुद्ध भएको बोली शुद्ध भएको परिचयको रुपमा पूजा गर्ने हो । मंगलमा चढाइने वस्तु पूजा गर्दा चढाइने २१ स्थानमा फूल चढाउनुपर्छ । त्यो भनेको शरीरको अभिन्न अंग सधैँ स्वस्थ राख्नुपर्ने २१ वटा अंगलाई हामीले चिन्ने हो ।
म्हपूजाको साइत निकाल्ने भनेकै चन्द्रमासको आधारमा हो । तर हामीले दिपावली नारायण विष्णुको अर्धाङ्गीनी पनि भनिएको छ । कहीं बहिनी पनि भनिएको छ । हामीले लक्ष्मी भनेको बसुन्धाराको अर्को स्वरुप भन्ने बुझेका छौँ । बसुन्धाराको तीन वटा स्वरुप हुन्छ । एउटा महालक्ष्मी ,बसुन्धाराको र अर्को कुमारीको हो । बसुन्धाराकोस्वरुपलाई हामीले महालक्ष्मीको पूजा गर्ने हो । उता भारत वर्षमा दिपावली होइन दिवाली भनेर मनाउनेहरुले कौला गाको औँशीको दिनलाई लक्ष्मी पूजाको स्वरुपमा मनाउँछन । र त्यो दिन भनेको आर्थिक वर्षको अन्त्य हुने र त्यही बेला लक्ष्मी पूजा गर्छन । त्यो पूजा गर्ने ठाउँमा हर हिसाब गरेर त्यहाँ खातापाता दुरुस्त राखेपछि त्यहाँ पूजा गर्ने हो । र भोलि पल्टदेखि नयाँ वर्ष लाग्छ । म्हपूजा भनेको सालको प्रारम्भ हो । लक्ष्मीको पूजा गर्दा प्राय नेवार समुदायको यो प्रचलन छ ।
लक्ष्मी पूजा गरेपछि लक्ष्मीको प्रसाद ग्रहण नगरी आफ्नो ढुकुटीमा राखेको पैसा निकाल्नु हुँदैन । जसरी राज्यले बजेट पेस गर्छ । बजेट पास नभइ त्यो बजेट खर्च हुँदैन, गर्न मिल्दैन । त्यसै गरेर यो लक्ष्मी पूजा गर्ने बेलामा हामी नेवार समुदायले ढुकुटीमा पूजा गर्छौँ । पूजा गर्नु अगाडि हप्ता १० दिनको लागि जति पैसा आवश्यक हुन्छ त्यो पैसा कोषबाट ढुुकुटीबाट निकालेर अर्को ठाउँमा राख्छौँ । त्यो अलगै राखेको खर्च गर्छौँ । र भाइटीकाको भोलिपल्ट हामी लक्ष्मीको फूल प्रसाद लिने भनेर फेरी पूजा गरेर फूल प्रसाद लिने गर्छौँ । यस दिनबाट फेरि नयाँ बजेटको प्रारम्भ हुन्छ । नेवार समुदायले लक्ष्मी भनेर आफ्नो चेलीबेटीलाई मान्छन् । विवाह भएर गइसकेको चेलीबेटीलाई लक्ष्मीको पूजा प्रसाद लिने चलन छ ।
(संस्कृतिविद् एवम् अध्येता डा.राजेन्द्रमान बज्राचार्यसँगको कुराकानीमा आधारित)