एमालेले पार्टी कार्यालयको नयाँ भवन बनाउने, कीर्तिपुर–२ को खडेरीमा भवन शिलान्यासको तयारी

58

काठमाडौँ, २५ असोज । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा पनि दुई, तीन पटक बाढीको सामना गरेको नेकपा (एमाले)ले नयाँ भवन निर्माण गर्ने भएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले स्थायी रूपमा भवन निर्माण गर्ने निर्णय गरेको हो ।

बैठकका निर्णय सुनाउँदै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले २०७२ सालको विनाशकारी भूकम्पपछि काठमाडौँ महानगरपालिका–१४ मदन नगर बल्खुमा रहेको एमाले पार्टी कार्यालय ध्वस्त भएको र त्यसयताका ९ वर्ष विभिन्न ठाउँमा भाडाका भवनमा बस्दै आएको बताउनुभयो । तर, अब भने स्थायी भवन निर्माणको तयारीमा रहेको उहाँले बताउनुभयो ।

शुक्रबार कीर्तिपुर नगरपालिका–२ मा रहेको घडेरीमा मदन भण्डारी स्मृति भवनको नाममा एमालेको पार्टी केन्द्रीय कार्यालयको शिलान्यास हुने जानकारी उहाँले दिनुभयो । एमालेले काठमाडौँ कलंकी–तीनथानानजिकै १० देखि १२ रोपनी क्षेत्रफल जग्गामा केन्द्रीय कार्यालय भवन बनाउन लागेको हो ।

२०७२ को भूकम्पका कारण बल्खुबाट विस्थापित नेकपा (एमाले) मुख्यालय धुम्बाराही, थापाथली हुँदै हाल ललितपुरको च्यासल पुगेको हो । त्यहाँ पनि बाढी र डुबानले दुःख दिएपछि नयाँ विकल्प खोजिएको छ ।

एमालेका आठ लाख बढी पार्टी सदस्यहरु छन् । भवन निर्माणका लागि भवन निर्माण कोष बनाएर बैंकमा अलग्गै खाता खोलिएको थियो । प्रत्येक पार्टी सदस्यबाट सय रूपैयाँका दरले रकम पनि उठाइएको थियो ।

गत वैशाख ८ देखि १० गतेसम्म गोदावरीमा गरिएको राष्ट्रिय प्रतिनिधि परिषद् भेलामा समेत पार्टी कार्यालय भवन निर्माणका लागि रकम संकलन अभियान सञ्चालन गरिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...