जहाजको आपतकालीन ढोका खोल्दा उडान सुरक्षामा चुनौती देखियो : बुद्ध एयर

70

काठमाडौँ, २४ असोज । बडादसैँमा यात्रुहरुको चाप बढिरहेका बेला विगत केही दिनदेखि यात्रुले हवाईजहाजका इमरजेन्सी डोअर (आपतकालीन ढोका) खोलेका घटना सार्वजनिक भएका छन् ।

बुद्ध एयरमा यात्रा गरिरहेका केही यात्रुले आपतकालीन ढोका खोलेपछि एयरलाइन्सले आपत्ति प्रकट गरेको छ । बुद्ध एयरका अनुसार अक्टोबर २ तारिखका दिन विराटनगरबाट काठमाडौँ आउँदै गर्दा एक यात्रुले आपतकालीन ढोका खोलेका थिए ।

त्यस्तै, अक्टुबर ७ का दिन नेपालगञ्जबाट काठमाडौँ र बिहीबार फेरि विराटनगरबाट जनकपुर उडानमा रहेको बुध्द एयरको इमरजेन्सी ढोका यात्रुले खोलेको बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णले बताउनुभयो ।

उडान प्रक्रियालाई नै अवरुद्ध पर्नेगरी ढोका खोलेपछि उडान तालिकालाई थप प्रभावित बनाएको उहाँको भनाइ छ । मैदानमै रहेको जहाजको ढोला यसरी खोलेको दश दिनको दौरानमा तेस्रो घटना भएको उहाँले जानकारी दिनुभयो ।

बिहीबार बिहान जनकपुर विमानस्थलको अनुकुल मौसम नहुँदा काठमाडौँबाट गएको जहाज विराटनगरमा अवतरण गरिएको थियो । आपतकालीन ढोकाको प्रयोगबारे विमान कम्पनीका परिचारिकाले उडान अगावै विस्तृत रुपमा यात्रुहरूलाई जानकारी गराएका हुन्छन् । तर, आपतकालीन अवस्थावाहेक ढोका खोल्न नमिल्ने र यसले उडान सुरक्षामै खलल पुर्‍याउने सम्भावना रहेको प्रवक्ता कर्णको भनाइ छ ।

बिहीबार बिहान भने विराटानगर विमानस्थलमा यात्रुले आपतकालीन ढोला खोलेको उहाँले बताउनुभयो । उक्त जहाज हाल टेक्निकल टीमले चेकजाँच गरिरहेको छ । यात्रुहरुले भने बुद्ध एयरको जहाजमा समस्या आउने गरेको बताएका छन् ।

बुध्द एयरले यस्ता यात्रुलाई विमानस्थलका सुरक्षाकर्मीलाई जिम्मा लगाउने गरेको उहाँले बताउनुभयो । हवाई उडानमा खलल पुर्‍याउने जोसुकैलाई ‘गैरसैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५’ अनुसार एकदेखि तीन वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरी जन्मकैदसम्म सजाय हुने प्रावधान रहेको प्रवक्ता कर्णले जानकारी दिनुभयो ।

उडान सुरक्षामा अनाहक खलल पुर्‍याउने यात्रुलाई विमान सेवा प्रदायक कम्पनीले उडानमा थप प्रतिबन्ध लगाउने गरेका छन् । हाल घटेका तीनवटा घटनामा संलग्न यात्रुहरु सामान्य अवस्थाका रहेको बुद्ध एयरले जनाएको छ । -नेपाल न्यूज बैंक

Share This:
सम्बन्धित खबर
Loading...