भारतीय ट्रकमा आगजनी गरेको अभियोगमा पक्राउ परेकामाथि ज्यान मुद्दा

14

झापा, २२ असोज । आगजनी गरिएको ट्रकका चालकको मृत्यु भएपछि बिएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईका ८ जना कार्यकर्तामाथि कर्तव्य ज्यानको मुद्दामा कानुनी कारबाही अगाडि बढाइएको छ ।

उनीहरुले आगजनी गरेको भारतीय ट्रकका चालकको मृत्यु भएपछि कर्तव्य ज्यानमा समेत थप प्रक्रिया कारबाही अगाडि बढाइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

झापा जिल्ला अदालतबाट आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा म्याद थप लिइ अनुसन्धान भइरहेकोमा भारतमा उपचारार्थ ट्रक चालक पोदो रायको असोज १९ गते मृत्यु भएपछि सो सम्बन्धमा कानुन बमोजिम कर्तव्य ज्यानमा समेत थप कारबाही अगाडि बढाइएको झापाका प्रहरी प्रवक्ता कृष्णकुमार चन्दले बताउनुभयो ।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियान’ का केन्द्रीय संयोजक दुर्गा प्रसाई काठमाडौँमा पक्राउ परेपछि आन्दोलित बनेका उनका कार्यकर्ताले असोज ६ गते राति साढे १० बजे कनकाई नगरपालिका–८ को स्थित बिरिङ पुलमा भारतको सिलिगुडीबाट प्लाइको फेस पत्ता बोकेर नेपालको सिराहातर्फ गइरहेको कुमार महतोले चलाएको युपी ५७ एटी ४४९३ नम्बरको भारतीय ट्रक र सोही रातिको बिहान साढे २ बजे बिर्तामोड नगरपालिका–६ गिरीबन्धु टि–इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा बिर्तामोडबाट काँकडभिट्टातर्फ जाँदै गरेको पोदो रायले चलाएको डब्लुबी ७३ ई ३०५६ नम्बरको अर्को भारतीय ट्रकमा आगजनी गरेका थिए । मोटरसाइकलमा आएका प्रसाईंका कार्यकर्ताले ट्रक चालकलाई मार्ने उद्देश्यले प्लाष्टिकको बोतलमा बोकेको पेट्रोलमा आगो लगाएर (पेट्रोल बम) ट्रकको क्याबिनमा प्रहार गरी आगजनी गरेका थिए ।

ट्रक चालक कुमार महतो घाइते भइ भाग्न सफल भएका थिए भने अर्का ट्रक चालक पोदो राय जलेर गम्भीर घाइते भएका थिए । रायलाई बिएण्डसी अस्पतालमा उपचार गरी थप उपचारको लागि भारतको सिलिगुडीस्थित नर्थ बंगाल मेडिकल कलेज लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो ।

पक्राउ परी ज्यान मुद्दामा पर्नेहरुमा हल्दीबारी–१ स्थायी ठेगाना भइ हाल बिर्तामोड ५ बस्ने प्रसाईं नेतृत्वको अभियानको भ्रातृ संगठन नागरिक सुरक्षा बल (पिडिएफ) का झापा संयोजक भीम तुम्बापो लिम्बू, पिडिएफका सहसचिव बिर्तामोड–७ बस्ने सुरेश चौधरी, पिडिएफका सदस्यहरु हल्दीबारी–१ बस्ने विवस लिम्बू, बुद्धशान्ति–४ बस्ने बलिहाङ माबो लिम्बू, पिडिएफका मेचीनगर इन्चार्ज मेचीनगर–६ बस्ने राजेश महत, पिडिएफका कोषाध्यक्ष अर्जुनधारा–९ बस्ने रुद्र भुजेल, पिडिएफका सल्लाहकार हल्दीबारी–१ बस्ने विरबहादुर गुरुङ र पिडिएफका सदस्य बिर्तामोड–३ बस्ने उदय लिम्बू रहेका छन् ।

भारतीय ट्रक चालकको मृत्यु भएपछि उनका आफन्तहरुले आइतबार साँझ एसियन हाइवेको काँकडभिट्टा नाकामा पानीटंकीतर्फ शव राखेर प्रदर्शन गर्दै नाका अवरोध गरेका थिए । भारतीय प्रहरीले नेपाल प्रहरीसँग सहजीकरण गरी मृतकको शव नेपाल पठाएको थियो । प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टम गरी प्रहरीले शव आफन्तलाई जिम्मा लगाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...