मुगु, १७ असोज । मुगु जिल्लाको सोरु गाउँपालिका वडा नम्बर ८ तारापानीमा रहेको साना किसान सहकारी संस्थामार्फत् सञ्चालन भएको कपास उद्योगबाट निर्माण भएका कपडाहरु बिक्री नहुँदा लाखौँ रुपैयाँ घाटा भएको छ ।
उद्योगबाट कपडाका गुन्यू, पटुका, मफलर, कोट, दोसल्ला, डसना, तकिया, दौरा सुरुवालको साथै यस्ता लुगा सिलाउने कपडा र कपासको पनि बिक्री नहुँदा उद्योगमा काम गर्ने कामदारहरुले ज्याला दिन पनि गाह्रो भएको सहकारी सञ्चालकहरु बताउँछन् ।
मुगुको सोरु गाउँपालका कच्र्चे, तारापानि, सीप, बुम्च, कालैधेन, भिई, नाथर्पु, जिमाका कृषकहरुले उत्पादन गरेको कपडा र कपासको १० लिटर तेल, कपासका दाना १५ क्वुइन्टल गरी करिब १६ लाख रुपैयाँभन्दा बढीको सामान थन्किएको सञ्चालकहरुले जानकारी दिएका छन् ।
परिवर्तनशील साना किसान सहकारी सस्था अध्यक्ष पदम बहादुर मल्लले बजारीकरणको अभावले लगानी थन्किएको बताउनुभयो ।
कपास उद्योगमा काम गर्ने सोरु गाउँपलिका ८ का ५८ वर्षका सिथिलाल चौलागाईले उद्योगबाट आफ्नो घर चलाएको भन्दै सामान बिक्री नभएपछि पाउनुपर्ने सेवा पनि समयमा पाउन गाह्रो भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘रोजीरोटी घरखर्च, बालबच्चा पढाइ खर्च जोहो गर्न भारतका गल्ली गल्ली र विदेशमा नेपाली युवाहरु दैनिक गइरहेका छन् । यस्तो गाउँघरमा कपास उद्योग सञ्चालनमा आउँदा निकै खुसी लागेको थियो । बिहान बेलुका घरतिरको काम गर्न सकिने दिनमा उद्योगमा काम गर्दै आएका थिए । पछिल्लो समयमा उद्योगबाट उत्पादन गरिएका सामान बजारको व्यवस्था नहुँदा गोदाममा थन्किएको छ । बिक्री नहुने चिन्ता छ, सामान बिक्री नभएपछि पाउने सेवा पनि समयमा पाउन गाह्रो हुने अवस्था छ ।’
यसका साथै, पालिका उपाध्क्षय केशर बहादुर शाहीले कृषकहरुलाई उद्योगमा जोड्ने र लोपोन्मुख रैथाने कपास खेती तथा उद्योगलाई कसरी नियमित सञ्चालन गर्ने एवम् गुणस्तर वस्तु उत्पादन तथा बजारीकरणको विषयमा उद्योगसँग सहकार्य गरी अघि बढ्ने बताउनुभयो ।