गोसाइँकुण्ड मेला भर्नेको संख्या आधाले घट्यो, खानाबस्न चर्को शुल्क लिएको गुनासो

70

काठमाडौँ, ४ भदौ । रसुवास्थित चर्चित तीर्थस्थल गोसाइँकुण्ड मेलामा यसवर्ष भक्तजनको संख्या घटेको छ । बर्सेनी लाग्ने मेलामा यसवर्ष भने भक्तजनको संख्या घटेको स्थानीयको भनाइ छ ।

यही भदौ ३ गते जनैपूर्णिमाका अवसरमा आयोजित मेलामा अपेक्षा गरेभन्दा दोब्बरको संख्या भक्तजन घटेको पाइएको हो । जनैपूर्णिमा पर्वका अवसरमा स्नान र पूजाआरधना गर्न यसवर्ष ८ हजार मात्र भक्तजन निलाद्री पर्वत पुगेको तथ्यांक छ ।

जनैपूर्णिमाका अवसरमा गतवर्ष १६ हजार भक्तजनले निलाद्री पर्वत पुगेर स्नान गरेको भए पनि यसवर्ष ८ हजार भक्तजन घटेको चोलाङपाटी लाङटाङ राष्ट्रिय निकुञ्जका प्रतिनिधि सिनियर गेम स्काउट अर्जुन गौतमले जानकारी दिनुभयो ।

सुत्ने ठाउँ र खानाकै समस्याका कारण यसरी बर्सेनी भक्तजनको संख्या घटेको तीर्थयात्री क्षितिज मैनालीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पर्वको अवसरमा घुम्न र गोसाइँकुण्डको दर्शन गन भन्ने थियो । तर, यहाँको खराब व्यवस्थानका कारणले गर्दा अप्ठ्यारो भयो । अरुलाई घुम्न आउनु भनेर अरूलाई सुझाव दिन सक्ने अवस्था नै छैन । खाने व्यवस्था राम्रो छैन, सुत्ने ठाउँ छैन । शौचालयहरूको समेत व्यवस्था छैन ।’

गोसाइँकुण्ड मेला व्यवस्थापन समितिभन्दा व्यवसायीहरूले बढी पैसा लिने गरेका कारण समेतसमयमा तीर्थयात्रीहरूले हैरानी खेप्नु परेको मैलानीको भनाइ थियो ।

यस्तै, अर्का यात्री डिल्लीराम आचार्यले पनि खानाको लागि उपयुक्त ठाउँ नभएकाले भक्तजन घटेको गुनासो गर्नुभयो । यसैगरी उहाँले यातायातको सुविधा नहुनु मुख्य समस्या भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘भगवानको दर्शन गर्न पाउँदा खुसी त लागेको छ । तर, खानबस्नको लागि स्थान उपयुक्त लागेन । होटलहरुले पनि त्यति राम्रो खुवाउँदैनन् । अझ भक्तजनको कमी हुनु भनेको सबैभन्दा मुख्य समस्या यातायात नै हो ।’

साथै उहाँले समितिले तोकेको पैसाभन्दा खानामा होटल व्यवसायीले बढी पैसा असुलेको आरोप लगाउनुभयो ।
कोरोना भाइरस संक्रमण फैलिनुभन्दा पहिले २० हजार दर्शनार्थीलाई थेग्न त्यहाँका होटल व्यवसायीहरूलाई हम्मेहम्मे परेको थियो । तर, यो वर्ष यात्रुको चाप थोरै भए पनि खोलिएका लजले थेग्न नसक्ने तथा बढी मूल्य लिएर खाना दिने गरेको तीर्थयात्रीहरुको गुनासो छ ।

तर, गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले तुलनतात्मक रुपमा भक्तजनको संख्या केही कमी भए पनि व्यवस्थापनमा कमजोरी नभएको बताउनुभयो । ‘यसवर्ष ९ देखि १० हजार भक्तजन गोसाइँकुण्ड पुगेका छन् । अलिक अगाडिदेखिकै गणना गर्ने हो भने १२ हजार बढीले दर्शन गरेका छन्,’ उहाँले भन्नुभयो,‘चित्तबुझ्दो संख्या त नहोला तर आउने भनेको यस्तै हो ।’

Share This:
सम्बन्धित खबर
Loading...