स्वास्थ्य मन्त्रालयले सुरू गर्‍यो १७ अस्पतालको सुधार अभियान

40

काठमाडौँ, २८ साउन । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका १७ अस्पतालले सेवामा सुधार गर्ने अभियान सुरू गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले संघीय अस्पताल तथा प्रतिष्ठान प्रमुखहरुसँग संयुक्त बैठक बसेर अस्पतालमा देखिएको भीडदेखि सेवालाई दुई सिफ्टमा थप गुणस्तर वृद्धि गर्न ९ बुँदे निर्देशन जारी गर्नुभएको थियो ।

एक महिनाभित्र भीड व्यवस्थापन गर्ने लक्ष्यअनुरुप हालसम्म रिपोर्ट प्राप्त सबै अस्पतालले सुधार भएको जानकारी पठाएको मन्त्रीको सचिवालयले जनाएको छ ।

संघ मातहतका १७ अस्पताल सबैले मन्त्रालयको निर्देशनअनुसार दुवै सिफ्टमा सेवा थालेका हुन् । संघीय राजधानी काठमाडौँको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले हरेक दिन बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म दुई सिफ्टमा सेवा आरम्भ गरेको छ ।

अस्पतालले स्वास्थ्य बिमाका सेवाग्राहीलाई ९० प्रतिशत बढी औषधि आफ्नै फार्मेसीबाट वितरण थालेको जनाइएको छ । अस्पतालको शौचालयलगायत क्षेत्रमा सुधार भएको विवरण अस्पतालले दिएको छ ।

त्यस्तै, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा जनरल ओपिडी सेवा ९ देखि ४ बजेसम्म थालिएको छ । यसका अलावा अपरेसन सेवामा एक घन्टा वृद्धि गरिएको रिपोर्ट अस्पतालले दिएको छ । भीड व्यवस्थापनका लागि अनलाइन टिकट प्रभावकारी देखिएको अस्पतालले जनाएको छ ।

यता, धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ओपिडी सेवा दुई सिफ्टमा सञ्चलनका अतिरिक्त अस्पतालको सेवा अवधि थप गरेको छ । अस्पतालमा रेडियोलोजीका लागि बेग्लै काउण्टर खोलिएको छ । प्रतिष्ठानमा सेवा लिनका लागि क्युआरमार्फत् भुक्तानी भइरहेको छ ।

राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँले २४सैँ घन्टा आकस्मिक शल्यक्रिया आरम्भ गरेको छ । अस्पतालले नियमित शल्यक्रियाका लागि भर्ना भएका बिरामीको एक हप्ता र ओपिडीका लागि एक महिनाभित्र शल्यक्रियाको पालो आउने व्यवस्था मिलाएको छ । स्वास्थ्य बिमाका औषधि पर्याप्त व्यवस्था गरेको अस्पतालले दुई वटा टिकट काउण्टर र अनलाइन पेमेन्ट सुविधा पनि दिएको छ ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले ओपिडीको टिकट बिहान साढे ११ बजेसम्म व्यवस्था गरेको छ । अस्पतालले दर्ता भएको एक महिनाभित्र नै शल्यक्रिया गर्ने व्यवस्था मिलएको छ । साथै, अनलाइनबाटै ल्याब रिपोर्ट लिने व्यवस्था पनि अस्पतालले गरेको छ ।

कान्ति बाल अस्पताल महाराजगञ्जमा आकस्मिक बाल उपचारका लागि ६ शय्या तथा अब्जरभेसनका लागि २० शय्या थप गर्ने प्रक्रिया आरम्भ भएको छ । अस्पतालमा भीड व्यवस्थापनका लागि टोकन प्रणालीलाई थप व्यवस्थित बनाइएको जानकारी अस्पतालले दिएको छ ।

पाटन स्वाथ्य विज्ञान प्रतिष्ठानले भीड व्यवस्थापनका लागि साधारण र शुल्क क्लिनिक प्रणाली व्यवस्थापन गरेको छ । डिजिटल बिल प्रणाली भदौ १ देखि थाल्ने अस्पतालले बिदाको दिनमा समेत ओपिडी र शल्यक्रिया थालेको छ ।

वीरगञ्जको नारायणी अस्पतालले शय्या अभाव हटेको छ । अस्पपतालमा स्वास्थ्य बीमाका औषधि पर्याप्त मौज्दान रहेको र भीड व्यवस्थापनका लागि टोकन प्रणाली र अनलाइन टिकट व्यवस्था गरिएको छ ।

बिपी कोइराला मेमोरिल क्यान्सर अस्पताल चितवन, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा, जिपी कोइराला स्वासप्रस्वास केन्द्र तनहुँ, वीर अस्पताललगायतले पनि भीड व्यवस्थापन, सरसफाइलगायतमा भएको सुधारबारे विवरण पठाएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...