हत्याका फरार दुई अभियुक्त पक्राउ

240

रौतहट । मदिरा सेवन गरी हत्या गरेर फरार भएका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । अत्यधिक मदिरा सेवन गरी वृन्दावन नगरपालिका–७ सखुअवा धमौराका अमिरी पासवानलाई हत्या गरेर फरार भएको अभियोगमा प्रहरीले सोही ठाउँका १९ वर्षीय विकास पासवान र ५५ वर्षीय बिन्द पासवानलाई पक्राउ गरिएको हो ।

अत्यधिक मदिरा सेवन गरी विकास पासवानलगायत केही व्यक्तिको समूहले सोमबार साँझ घरतर्फ जाँदै गरेका अमिरी पासवानलाई गालीगलोज तथा कुटपिटसँगै जोरले धक्का दिँदा लडेर उनको टाउकामा गम्भीर चोट लागेको थियो । घाइते पासवानलाई तत्काल एम्बुलेन्सबाट गरुडास्थित सिटी अस्पतालमा उपचारका लागि लगिएको थियो । उनको उपचारका क्रममा गए राति ८ः१५ बजे अस्पतालमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय गौर र इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले घटनाको केही बेरपछि आरोपी विकास पासवानलाई उनको आफ्नै घरबाट र त्यसको चार घन्टापछि उनकै बयानका आधारमा अर्का आरोपी बिन्द पासवानलाई लुकीछिपी बसेको अवस्थामा उनको घरैबाट विशेष सूचनाका आधारमा पक्राउ गरिएको रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए।

अभियुक्त दुवै जनामाथि ज्यानसम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थमाउने तयारी भइरहेको उनको भनाइ छ । पछिल्लो समय प्रहरी उपरीक्षक शाहको निर्देशनमा रौतहटमा प्रहरीले सक्रियता बढाएका कारण अपराध भएको केही घण्टाभित्रै अपराधी पक्राउ गर्न सफल भइरहेको देखिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...