मिलन सङ्ग्रौलाको उपन्यास ‘बावऋ’ लोकार्पण

33

काठमाडौँ, १९ साउन । लेखक मिलन सङ्ग्रौलाको दोस्रो उपन्यास ‘बावऋ’ लोकार्पण गरिएको छ । काठमाडौँमा जारी किताब जात्रा साहित्यिक महोत्सवमा शुक्रबार लेखकद्वय प्रवीण खतिवडा र सगुना शाहले पुस्तक लोकार्पण गर्नुभएको हो ।

कार्यक्रममा ‘बावऋ’माथि अन्तरसंवादसमेत गरिएको थियो । बादल, वर्षा र ऋतुको त्रिकोणात्मक प्रेमकथा मात्र नभई बाबु–छोराको सम्बन्ध, द्वन्द्वकालीन समयको भोगाइ, होस्टेल जीवन, गीत र खेल अनि सपना आदिको मीठो प्रस्तुति ‘बावऋ’ रहेको लेखक सगुना शाहले बताउनुभयो ।

सबै किसिमका पाठकका लागि उपयोगी उपन्यास आएको भन्दै उहाँले उपन्यासको प्रशंसासमेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘उपन्यासको भाषाशैली आकर्षक छ, यसले पाठकलाई बाँधेर राखिरहन्छ ।’

उपन्यास आदर्श प्रेमको कथ्यमा आधारित रहे पनि यसले समाजका धेरै तहलाई उधिनेको अर्का वक्ता एवम् लेखक प्रवीण खतिवडाले बताउनुभयो । ‘मुख्य पात्रको यात्रासँगै आउने सहायक पात्रहरूको कथाले पनि उपन्यासलाई निकै ओजिलो बनाएको छ,’ उहाँले भन्नुभयो, ‘उपन्यासमा प्रयुक्त मौसमअनुरूपका अध्यायले भावनात्मक रूपमा पाठकलाई उसरी नै महसुस गराउँछन् ।’ उपन्यासको फर्म र कथ्य शैली आफूलाई मन परेको खतिवडाले बताउनुभयो ।

‘उपन्यासले हालको राज्यसत्ता र यसका सरोकारवालालाई एउटा ठुलो प्रश्न पनि गरेको छ,’ उहाँले भन्नुभयो । आफूले साढे पाँच वर्ष उपन्यासका कथा र पात्रहरूसँगै बाँचेर ‘बावऋ’ लेखन पूरा गरेको लेखक मिलन सङ्ग्रौलाले बताउनुभयो ।

‘मैले किशोर अवस्थामा भोगेको एक कालखण्डको भोगाइसँग उपन्यास नजिक छ,’ उहाँले थप्नुभयो,‘एउटा कालखण्डको भोगाइसँगै हुर्किएको एउटा प्रेमकथा हो ‘बावऋ’ । मनैदेखि भन्न मन लागेको यो कथा अब पाठकका हातमा पुगेको कुराले म एकदम पुलकित छु ।’

कथासङ्ग्रह ‘च्याट गर्ल’ र उपन्यास ‘पर्पला’ लेखिसक्नुभएकी सङ्ग्रौलाको ‘बावऋ’ तेस्रो कृति हो । फाइनप्रिन्टले प्रकाशन गरेको यस कृतिको मूल्य ५६० रुपैयाँ छ ।

Share This:
सम्बन्धित खबर
Loading...