ट्युसन पढ्न आएका विद्यार्थीबीच छुरा हानाहान, तीन जना घाइते

43

रौतहट, २१ असार । रौतहटको गौरमा ट्युसन पढ्ने विद्यार्थी समूहबीच छुरा हानाहान हुँदा तीन जना घाइते भएका छन् ।

घाइतेमध्ये एक जनाको आवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । गौर ४ टिकुलियाका सुरज यादवको घाँटी नजिक कुममा गहिरो घाउ लागेकाले थप उपचारका लागि वीरगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक दिलिप घिमिरेका अनुसार घटनामा घाइते तीन जनाको उपचार भइरहेको छ । गौर नगरपालिका नजिकै सञ्चालनमा रहेको ट्युसन तथा कोचिङ सेन्टरका विद्यार्थीहरुबीच झडप भएको खबर पाउनेबितिकै प्रहरी टोली पुगेको उहाँले जानकारी दिनुभयो ।

प्रहरी टोलीले घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिएको छ । घटनामा संलग्न इशनाथ नगरपालिका ९ का २० वर्षीय सञ्जिव गुप्ता, २१ वर्षीय प्रदीप साह र परोहा नगरपालिका ९ का १८ वर्षीय शिवम् कुमार सहनीलाई पक्राउ गरेको छ ।

चार जनालाई पक्राउ गरेपनि एकजनाको संलग्नता नदेखिएपछि तीनजना उपर ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

गौर नगरपालिकाभित्र अनुमति समेत नलिएका ट्युसन तथा कोचिङ सेन्टर सञ्चालनमा रहेको यहाँका अगुवाहरुको भनाइ छ । गौर नगरपालिकाको शिक्षा शाखा तथा शिक्षा विकास तथा समन्वय इकाइले समेत कुनै चासो नलिएको अभिभावकहरुले गुनासो गरेका छन् ।

व्यापारिक प्रयोजनका लागि बनाइएका सटरमा एक पटकमा ४० भन्दा पनि विद्यार्थीलाई राखेर ट्युसन र कोचिङ पढाउने गरिन्छ । एउटै कोठामा क्षमताभन्दा बढी विद्यार्थी राखेर पठनपाठन हुँदा समेत नियमक निकाय मौन बसेको आरोप लागेको छ । तर, गौर नगरपालिकाले यस विषयमा ध्यानाकर्षण भएको जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...