काठमाडौँ, २० असार । नेपाली क्रिकेटको सर्वोच्च संस्था नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । आज बिहान ११ बजे काठमाडौँको एक होटेलमा बस्ने गरी बैठक आह्वान गरिएको हो ।
बैठकमा झण्डै एक दर्जन बढी एजेन्डाहरु तय गरिएका छन् । नेपाली क्रिकेट टिमले वेस्टइन्डिज र अमेरिकामा आयोजना भएको आइसिसी टी-२० विश्वकपको समीक्षा, उक्त विश्वकपको तयारी खर्च अनुमोदन गर्ने एजेन्डा तय गरिएको छ ।
यसैगरी सन्दीप लामिछानको भिसा समस्याको एजेन्डा पनि तय गरिएको बताइएको छ । सन्दीपले अमेरिकाको भिसा पाएका थिएनन् । दुई पटक अन्तर्वार्ता दिँदा पनि भिसा अस्वीकृत भएको थियो ।
यसैगरी, पहिलो संस्करण आयोजना गरेर निकै विवादित बनेको नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण आयोजनाका बारेमा पनि आजको बैठकमा छलफल हुने बुझिएको छ ।
टियु मैदानमा रहेको जिम हल विस्तार र पिचको माटो भण्डारण क्षेत्रको विषयमा पनि छलफलका एजेन्डा तय गरिएको छ ।
यसैगरी मूलपानी मैदानको क्युरेटिङ कन्सलटेन्ट नियुक्ति सम्बन्धमा पनि छलफल हुने छ भने राष्ट्रिय छनोट समितिको सुविधाका विषयमा पनि छलफलको एजेन्डामा तय गरिएको छ ।
महिलाको टी-२० एसियाकपको सहभागिताका साथै कर्मचारीहरुको प्रशासनिक नियमावली पनि पारित गर्ने एजेन्डामा समावेश गरिएको छ ।