काठमाडौँ, १७ असार । स्पेन र इंग्ल्यान्ड युरोकप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेका छन् । आइतबार राति भएको राउन्ड अफ १६ को खेलमा जर्जियाविरुद्ध ४–१ गोलको जित दर्ता गर्दै स्पेनले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।
स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले एक एक गोल गरे । १८औँ मिनेटमा ले नोर्मान्डले आफ्नै पोस्टमा गोल गरेपछि स्पेन सुरुवाती समयमा भने पछि परेको थियो । सोही अग्रता जर्जियाले काम राख्न नसक्दा ३९औँ मिनेटमा बराबरी गोल खान पुग्यो ।
स्पेनका लागि ३९औँ रोड्रीले गोल गर्दै खेल १–१ अबस्थामा ल्याएका थिए । पहिलो हाफमा एक एकको बराबरी खेलेको स्पेनले दोस्रो हाफमा थप तीन गोल गर्दै क्वाटरफाइनलमा स्थान पक्का गर्न सफल भयो । हाफको ५१औँ मिनेटमा रुइजले गोल गर्दै स्पेनलाई २–१ ले अघि बढाए ।
७५औँ मिनेटमा विलियम्सको गोलमा स्पेनले ३–१ को अग्रता लिएको थियो । ८३औँ मिनेटमा मैदान प्रवेश गरेका ओल्मोले प्रवेश गरे लगत्तै गोल गरेपछि अन्ततः स्पेन ४–१ को शानदार जित निकाल्न सफल भयो ।
जितसँगै स्पेनले अब स्पेनले क्वाटरफाइनलमा आयोजक जर्मनीको सामना गर्ने छ । जर्मनीले डेनमार्कलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।
यस्तै, अर्को खेलमा स्लोभाकियाविरुद्ध पुनरागमन जित हासिल गर्दै इंग्ल्यान्ड पनि क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
गेल्सेनकर्चेनमा इंग्ल्यान्डले अतिरिक्त समयमा स्लोभाकियालाई २–१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । इंग्ल्यान्डको जितमा जुड बेलिङ्घम र कप्तान ह्यारी केनले गोल गरेका छन् । २५औँ मिनेटमा स्लोभाकियाका लागि इभान स्क्रान्जले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए ।
खेलमा एक शून्य गोलले पछि परेको इंग्ल्यान्डले बेलिङ्घमको गोलबाट नियमित समयको अन्तिम समयमा बराबरी गोल गर्न सफल रह्यो । अतरिक्त समयको पाँचौँ मिनेट इंग्ल्यान्डले उत्कृष्ट बाइसाइकल किकमार्फत् गोल गर्दै खेल अतिरिक्त समयमा धकेलेका थिए ।
अतिरिक्त समयको पहिलो मिनेटमा नै कप्तान ह्यारी केनले गोल गर्दै २–१ को अग्रता दिलाए । त्यसपछि बाँकी समय थप गोल हुन सकेन र इंग्ल्यान्ड विजयी भयो ।
जितसँगै इङ्ल्यान्डले अब क्वाटरफाइनलमा स्वीट्जरल्यान्ड सामना गर्नेछ । स्वीट्जरल्यान्डले साविक विजेता इटालीलाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाइसकेको छ ।
युरोकपमा आज फ्रान्स र बेल्जियम तथा पोर्चुगल र स्लोभानिया आमने सामने हुने छन् । पहिलो खेल राति पौने १० बजे तथा दोस्रो खेल राति पौने १ बजे सुरु हुने छ ।