दक्षिण अफ्रिका टी-२० विश्वकपको फाइनलमा

18

काठमाडौँ, १३ असार । दक्षिण अफ्रिका आइसिसी टी-२० विश्वकपको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । वेस्ट इन्डिजमा आज भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

अफगानिस्तानले दिएको जम्मा ५७ रनको लक्ष्य दक्षिण अफ्रिकाले ८.५ ओभरमा पूरा गरेको थियो । टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाएर ५६ रनमात्रै बनायो ।

समूह चरणदेखि सुपर ८ सम्म उत्कृष्ट प्रदर्शन गरेको अफगानिस्तानको सेमिफाइनलमा ब्याटिङ नै चलेन । अफगानिस्तानका रमनुल्लाह गुर्वाज खाता नै नखोलेर आउट भएका थिए । त्यसलगत्तै गुलबद्दिन नइब ९ रन बनाएर आउट हुँदा अफगानिस्तानले १६ रनको स्कोरमा २ विकेट गुमाउन पुग्यो । तेस्रो विकेटको रुपमा ओपनर इब्राहिम जर्दानलाई गुमायो । जर्दान २ रन बनाएर आउट हुँदा अफगानिस्तानले २० रन बनाएको थियो ।

सोही स्कोरमा मोहमद नाबी खाता नखोली आउट भए । २३ रनको स्कोरमा अफगानिस्तानले पाँचौँ विकेट गुमाएको हो । अफगानिस्तानका नानगेलिया खरोटे २ रन बनाएर आउट भए । पावर प्लेको समाप्तिमा अफगानिस्तानले ५ विकेट गुमाएर २८ रन बनाएको थियो ।

छैटौँ विकेटको रुपमा अज्मतुल्लाह ओमरजाईले सर्वाधिक १० रन बनाए । ५० रनको स्कोरमा सातौँ विकेट गुमाउँदा करिम जनतले ८ रनको योगदान गरे । यसैगरी १०.२ ओभरमा कप्तान रासिद खान पनि ८ रन बनाएर नवौँ विकेटको रुपमा पभेलियन फर्किए । ११.५ ओभरमा ५६ रन हुँदा नभिन उल हक २ रन बनाएर आउट हुँदा अफगानिस्तान अलआउट भयो । फजलहक फारुकी २ रनमा नटआउट रहे ।

दक्षिण अफ्रिकाका मार्को जेनसेनले ३ ओभरमा १६ रन खर्चिएर ३ विकेट लिए । यसैगरी तबरेज शम्सीले १.५ ओभरमा ६ रन दिएर ३ विकेट लिए । कागिसो रबाडाले ३ ओभर बलिङ गर्दा १ ओभर मेडन राखेर १४ रन खर्चिँदै २ विकेट लिँदा एनरिच नोट्जेले ३ ओभरमा ७ रन खर्चिएर २ विकेट लिए ।

५७ रनको सामान्य लक्ष्य पछ्याउँदा दक्षिण अफ्रिकाको सुरुवात भने राम्रो रहेन । जारी विश्वकपमा राम्रै प्रदर्शन गरेका क्विन्टन डी कक फ्लप भए । उनी ५ रन बनाएर आउट भएका थिए । त्यसपछि रिजा हेनरिक र कप्तान एडेन मार्करमले पारि सम्हाल्दै दक्षिण अफ्रिकालाई ८.५ ओभरमा जिताए । रिजाले २५ बलमा २९ रनको नटआउट पारि खेल्दा मार्करमले २१ बलमा २३ रनको नटआउट पारि खेले । फजलहक फारुकीले १ विकेट लिए ।

दक्षिण अफ्रिकाले अब फाइनलमा भारत र इंग्ल्याण्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...