काठमाडौँ, १२ असार । लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुममा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता भएका छन् । पहिरो गएको ९ घन्टा हुनलाग्दा समेत खोजी र उद्दारका लागि अझै घटनास्थलमा प्रहरी पुगेको छैन ।
क्व्होलासोथार गाउँपालिका ३ को पोगुममा भारी वर्षापछि बुधबार बिहान करिब १ बजेतिर गएको पहिरोले तीन वटा घर बगाएको हो । सोही पहिरोमा परी मित्रमान गुरुङको परिवारका चार जना बेपत्ता भएको वडा नम्बर ३ का सदस्य भोज बहादुर घलेले जानकारी दिनुभयो ।
बेपत्ता हुनेमा ६९ वर्षीय मित्रमान गुरुङ, उहाँको बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, ७ वर्षीया इच्छा गुरुङ र ५ वर्षीया नम्रता गुरुङ रहेको घलेले जानकारी दिनुभयो ।
‘पहिरोमा चार जना बेपत्ता हुनुभएको छ । स्थानीयले खोजीकार्य गरिरहेका छन् । प्रहरीहरु उद्दारका लागि बिहानै हिँडिसक्नुभएको छ, बाटोमा आउँदै हुनुहुन्छ, यहाँ आइपुग्नु भएको छैन,’ उहाँले भन्नुभयो, ‘गएरातिको पानीले ठाउँठाउँमा सडक बगाएको रहेछ, गाडी आउजाउ गर्न नसक्ने भएर ढिला भएको जानकारी दिनुभएको छ ।’
पहिरो करिब तीन सय मिटर लामो पहिरोमा स्थानीय मित्र घले, मित्रमान गुरुङ र होमबहादुर गुरुङको घर बगाएको हो ।
घलेका अनुसार घटनास्थलको करिब ३२ किलोमिटरको दुरीमा प्रहरी कार्यालय पर्छ ।