काठमाडौँ, ६ असार । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्ट इन्डिजमा ब्याटिङ पिच असहज भएको बताउनुभएको छ ।
नवौँ संस्करणको टी–२० विश्वकपमा सहभागी भएर स्वदेश फर्किएपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले ब्याटिङका लागि पिच असहज भएको र आफूहरुलाई नाइट गेम खेल्ने बानी नपरेको अनुभव बाँड्नुभयो ।
उहाँले भन्नुभयो, ‘पहिलो गेममा पनि त्यतिकै कन्फिडेन्स नै थियो । हामीमा एक्सपेरियन्सभन्दा त्यहाँको सर्फेस नै ब्याटिङका लागि च्यालेन्जिङ थियो । हरेक खेलमा राम्रो स्कोर कसैले गर्न सकिरहेका थिएनन् । हामीलाई नाइट गेमको बानी पनि थिएन । टी–२० खेलहरु राति मात्र हुन्छन् । हामीले त्यसरी खेलेका थिएनौँ । नाइट गेमले महत्वपूर्ण रोल खेलेको जस्तो छ ।’
दक्षिण अफ्रिकासँगको खेलमा भने ब्याटिङ युनिटको केही कमजोरी भएको उहाँले स्वीकार्नुभयो । त्यस्तै कप्तान पौडेलले खेलाडीलाई इंगित गरी गाली नगरिदिन क्रिकेट समर्थकहरुलाई आग्रह गर्नुभयो ।
आफ्नो यात्रा समूह चरणमै टुंग्याएको नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको थियो । दुई समूहमध्ये पहिलो समूह आज बिहान १ बजे नेपाल अवतरण गरेको हो भने अर्को समूह बिहान १० बजे आइपुगेको हो ।