काठमाडौँ, ६ असार । आयोजक राष्ट्र जर्मनीले युरोकप फुटबलमा लगातार दोस्रो जित निकालेको छ । समूह ‘ए’ मा रहेका जमर्नले बुधवार राति भएको खेलमा हंगेरीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
जर्मनीको जितमा जमाल मुसियाला र गुन्डोगानले एक एक गोल गरेका थिए ।
स्टुगार्ट मैदानमा भएको खलको २२औँ मिनेटमा मुसयालाले गोल गर्दै अग्रता दिलाए । उनले गुन्डोगानको पासमा गोल गरेका थिए । पहिलो हाफमा १ गोल गरेको जर्मनीले दोस्रो हाफमा अरु १ गोल थपेको थियो । जर्मनीका लागि गुन्डोगानले ६७औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । उनले म्याक्सी मिलानको पासमा गोल गरेका थिए ।
जितसँगै समूह ‘ए’मा जर्मनी ६ अंकका साथ शीर्ष स्थानमा छ । पहिलो खेलमा स्कटल्यान्डलाई जर्मनीले पराजित गरेको थियो । हंगेरीको भने यो लगातार दोस्रो हार हो ।