काठमाडौँ, २० जेठ । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले सरकारले आर्थिक सुधारको वर्ष भनेर बजेटमा भनेको भएतापनि आयोग गठनको वर्ष हुने डर रहेको टिप्पणी गर्नुभएको छ ।
शनिबार काठमाडौँमा आयोजित बजेटपछिको अन्तरक्रिया कार्यक्रममा उहाँले आर्थिक क्षेत्रको समस्याको समाधान दीर्घकालीन हुनुपर्ने भन्दै बजेट सुरुवात गर्दा संरचनागत सुधारबाट सुरु गरेको हुनाले आर्थिक क्षेत्रको समस्यालाई सम्बोधन गर्न नसकेको बताउनुभयो
।
उहाँले भन्नुभयो,‘आयात निरन्तर घट्दै छ । त्यसैले राजस्वमा दबाब परेको छ । त्यसले व्यवसायीको आम्दानीमा प्रभाव पारेको छ । त्यसको समाधान त दीर्घकालीन हुनुपर्ने होला नि ? बजेट सुरुवात गर्दा संरचनागत सुधारबाट सुरु गरेको छ । समस्याको धेरै सम्बोधन भएको छैन । यसैपनि संरचना सुधारका कुराहरु धेरै हुन्छन् । ति कुरा अब आयोग गठन गरेर गर्ने भन्नुभएको छ । त्यसमा मेरो आलोचना छ ।’
उहाँले अगाडि भन्नुभयो,‘बजेटको पाँच पेजमा आर्थिक सुधारको कुरा गर्ने अनि छैटौँ पेजमा गएर यी सबैको लागि उच्चस्तरीय आयोग गठन गर्ने भन्ने ? बजेटमा मन्त्रीज्यूले आर्थिक सुधारको वर्ष भन्नुभएको छ तर आयोग गठनको वर्ष हुने डर हुन्छ । त्यस्तो नहोस् ।’
उहाँले बाहिरबाट सुन आयात गरेर आफ्नो सीपलाई प्रयोग गरी गहना बनाएर निर्यात गर्ने कुरामा राष्ट्र बैंक र अर्थ मन्त्रालयले सोच्न आवश्यक रहेको औंल्याउनुभयो ।
उहाँले भन्नुभयो,‘गहना बनाएर निर्यात गर्ने सुन चाँदीको हकमा आयात गर्न दिँदा हुन्छ । निर्यात हुने परिमाणको आधारमा आन्तरिक खपत भने कठिन हुन्छ । त्यो राज्यले धान्न सक्दैन । सुनको माग हाम्रो देशको देशको नागरिकको मात्र होइन् त्यसैले आफ्नो सीपलाई प्रयोग गरेर र मुल्य वृद्धि गरेर निर्यात गर्ने कुरामा राष्ट्र बैंक र अर्थ मन्त्रालयले सोच्नुपर्छ ।’