‘विद्यार्थी महोत्सव’ले विद्यार्थी आन्दोलनभित्र सिर्जनात्मक भूमिकाको खोजी गर्नेछ : समिक बडाल

11

पछिल्ला वर्षहरुमा विद्यार्थी आन्दोलनको प्रभावबारे विभिन्न टिकाटिप्पणी भइरहेका छन् । सडक आन्दोलनका क्रममा उत्तेजित र अराजक शैली प्रस्तुत गरिएको भन्दै आलोचना भइरहेको छ । यसै सिलसिलामा एमाले निकट अनेरास्ववियूले आन्दोलनको स्वरुप परिवर्तनको सुरुवात गर्ने लक्षण देखाएको छ । यही जेठ १ गतेदेखि ३ गतेसम्म काठमाडौँको भृकुटी मण्डपमा ‘विद्यार्थी महोत्सव–२०८१’को आयोजना गरेर विद्यार्थी आन्दोलनलाई नयाँ दिशा दिने तयारी थालिएको छ । यसै विषयमा केन्द्रित रहेर अनेरास्ववियूका केन्द्रीय अध्यक्ष समिक बडालसँग संक्षिप्त कुराकानी गरिएको छ ।

आन्दोलनका क्रममा विद्यार्थी संगठनहरुले सडकमा ढुंगामुढा गरेको, नारा जुलुस, पुत्ला जलाएको र राँके जुलुस गरेको मात्र हामीले सुन्दै र देख्दै आएका छौँ । सोही आन्दोलनबाट आएका नेताहरुबाट एकाएक यो विद्यार्थी महोत्सव गर्ने सोच कसरी पलायो ?
नेपालको विद्यार्थी आन्दोलनको इतिहासमा अनेरास्ववियूको अलग्गै भूमिका छ । यतिबेला अनेरास्ववियू स्थापना भएको ६० वर्षको जन्मदिन मनाउने तयारीमा छौँ । विशेषत नेपालको विद्यार्थी आन्दोलनलाई बुझ्ने तरिका विगतदेखि नै फरक छ । हामी व्यवस्था परिवर्तनको आन्दोलनहरुमा, जनजीविका मुद्दाहरुमा विद्यार्थी नेताले आफ्ना तवरबाट निर्णायक भूमिका निर्वाह गरेका थिए र गरिरहेका छन् ।

विद्यार्थी आन्दोलनमा लागिसकेपछि जोकोही व्यक्ति राजनीतिक दललाई नेता मात्र हुन्छन् भन्ने आम बुझाइ छ । हामी त्यो बुझाइलाई परिवर्तन गर्न खोज्दैछौँ । नेपालको विद्यार्थी आन्दोलनले राजनीतिक नेतृत्व मात्र होइन सँगसँगै विभिन्न क्षेत्रका विज्ञहरु उत्पादन पनि गरिरहेको छ । हिजो हामी अधिकार प्राप्तिको आन्दोलनमा राजनीतिक दलहरुसँग थियौँँ, व्यवस्था परिवर्तनले हामीले त्यो अभिभारा पूरा गरिसकेका छौँ ।

विश्वकै उत्कृष्ट व्यवस्था आज हाम्रो मुलुकमा छ । प्रतिस्पर्धाबाट नै सृष्टता हासिल गर्ने नेतृत्व आज हामीले प्राप्त गरेका छौँ । व्यवस्थाभित्र उन्नत खालका राम्रो विचार भएका र मुलुकलाई हाँक्नसक्ने नेतृत्वहरु ल्याउन सफल भएका छौँ । आवधिक निर्वाचन प्रणाली सुन्दर व्यवस्थामार्फत् नेतृत्व स्थापित गर्ने विधि आज हामीले स्थापित गराएका छौँ । अब नेपालको विद्यार्थी क्षेत्रले कुनै सामन्ती व्यवस्थालाई गाली गर्ने अवस्था छैन । त्यसको सामना गर्नुपर्ने छैन । अब मुलुकलाई समृद्ध कसरी बनाउने, कसरी आम नेपालीलाई सुखी बनाउने, कसरी युवाहरुलाई स्वदेशमा नै स्वरोजगार बनाउने र रोजगारसँग जोड्ने, कसरी सीपसँग जोड्ने भन्ने विषय अबको नेपालको विद्यार्थी आन्दोलनले गर्नुपर्छ ।

हालसम्म रचनात्मक प्रतिपक्षको भूमिकामा विद्यार्थी आन्दोलन रह्यो । त्यसैले हामीले नेपालको विद्यार्थी आन्दोलनभित्र सिर्जनात्मक भूमिकाहरुको खोजी गर्ने उद्देश्यकासाथ विद्यार्थी महोत्सवको आयोजना गरेका हौँ । महोत्सव हामीले किन गर्न खोजिरहेका छौँ भने आज नेपालको आन्दोलनप्रति प्रश्न खडा गर्ने धेरै जमात हामीले देखेको छौँ । त्यो जमातलाई हामी जवाफ दिन चाहन्छौँ । हिजो व्यवस्थाविरोधी आन्दोलनमा अनेरास्ववियू, नेविसंघ, क्रान्तिकारीलगायतका विद्यार्थी संगठनहरुले भूमिका नखेलेको भए आज यो स्वतन्त्रता प्राप्ती हुँदैनथ्यो । त्यो व्यवस्था हामीले ल्याएका थियौँ । अब व्यवस्थाभित्र अवस्था परिवर्तन गर्न र त्यसका लागि हामीले के गर्नुपर्छ भन्ने सन्देश यो महोत्सवबाट दिन चाहन्छौँँ ।

महोत्सवमा तपाईंहरुले राजनीतिक दलका नेताहरु भेला मात्र गर्न खोज्नुभएको हो कि अलिकति फरक गर्न खोज्नुभएको हो ?
महोत्सवमा सबै विचार र सिद्धान्तमा आस्था भएका राजनीति दल, समाजसेवी, शिक्षाविद र सबै संगठनका विद्यार्थीहरुलाई आमन्त्रण गरेका छौँ । आयोजक अनेरास्ववियू भएतापनि साझा विद्यार्थीहरुको महोत्सवका रुपमा सफल बनाउने प्रयासमा छौँ । यसमा विभिन्न १५ वटा विधामा विद्यार्थीका प्रतिभाहरुलाई देखाउँदैछौँ । यस्तो सामाजिक कार्यमार्फत आफूलाई उन्नत सावित गरेका व्यक्तित्वहरुलाई राज्यमा चिनाउने छौँ । विद्यार्थीहरुका विभिन्न किसिमका प्रतिभाहरुलाई हामीले एकै ठाउँमा १९ वटा कार्यक्रमलाई जोडेर विद्यार्थीहरुलाई पनि राज्यले लगानी गर्ने हो भने क्षमता भएकाहरु पनि छन् है भन्ने सन्देश दिन खोजिरहेका छौँ ।

विश्वका अधिकांश मुलुकहरुमा श्रम गरेर त्यस मुलुकलाई समुन्नत गर्न सक्ने युवा साच्चिकै नेपालमा पनि श्रम गरेर प्रतिफल दिनसक्छ भन्ने देखाउन चाहेका छौँ। विद्यार्थीले आत्मस्वाभिमानकासाथ मुलुक बनाउन सक्ने संकल्प गर्छ भन्ने सन्देश हामीले यो महोत्सवबाट प्रमाणित गर्नुपर्छ । त्यस्तो सन्देश राज्यलाई दिनुपर्नेछ । राज्यको चुहावट कहाँ छ त्यो देखाउनलाई पनि हामीले महोत्सव गरेका छौँँ । राजनीतिक आस्थासँग जोडिएकाको मात्र भेला नभइ हरेका क्षेत्रका प्रतिभाहरुलाई ल्याएर राज्यसामू चिनाउने प्रयत्नमा लागेका छौँ।

नेपालको एक जिम्मेवार विद्यार्थी संगठनले महोत्सव गरिरहँदा हाल व्याप्त सहकारी प्रकरण, भ्रष्टाचार र व्यथितिविरुद्ध आवाज उठाउनुको साटो एनजिओ, आइएनजिओले जस्तो आन्दोलन चाहि किन गर्नुभएको ?
यस्ता खालका मुमेन्ट एनजिओ आइएनजियोले गर्ने मात्र हो भन्ने बुझाइलाई चिर्नका लागि महोत्सव गरिएको हो । आम जनताको त्यस्तो बुझाइमा हामीले परिवर्तन गर्नुपर्ने छ । नेतृत्व भनेको आर्थिक, सामाजिक मुद्दामा अडिक हुनुपर्छ । तपाईं हामीमाथि कसैले प्रश्न गर्न सक्छन् भने त्यो प्रश्नको आफ्नो जीवन र व्यवहारबाट दिनेसक्ने नेतृत्व आजको आवश्यकता हो । त्यो सन्देश विद्यार्थी आन्दोलनले दिन सक्नुपर्छ । सुशासनको पछाडि दृढताकासाथ उभिने हुनुपर्छ । हरेक हिसाबले प्रश्न नउठ्ने अवस्था हामीले बनाउनुपर्छ । आज युवाहरुलाई जुन किसिमको समस्याहरु देखिरहेको छ ती समस्याहरुलाई बुझ्ने र सम्बन्धित पक्षमा खबरदारी गर्नसक्ने खालको नेतृत्व आजको आवश्यकता हो । त्यही स्तरको नेतृत्व विकास गर्नुपर्छ ।

हिजो राजनीतिक दलहरु प्रतिवन्धित हुँदा दुःख–कष्ट व्यहोरेका नेतृत्वहरु आज त्यो ठाउँमा पुग्दा उनीहरुमाथि प्रश्न उठेको छ । सोही नेतृत्वका कारण मुलुकले अर्कों दुर्दशा व्यहोर्ने होकि भन्ने शंकाका ठाउँहरु प्रशस्त देखिन्छ । अबको अवस्थालाई जोगाउनुपर्छ । नेपालको विद्यार्थी आन्दोलनलाई साँचो अर्थमा भोलिको मुलुकको नेतृत्व गर्नसक्ने बनाउनुपर्छ । यस्तो स्तरको कार्यक्रम कुनैपनि विद्यार्थी संगठनले गरेका छैनन् । राजनीतिक संगठनबाट यस्तो कार्यक्रम भएको छैन । हामीले नै पहिलो पटक आँट गरेको छौँ । सबैका छोराछोरीको भविष्य निर्माणको लागि यस कार्यक्रममार्फत् राज्यलाई घचघच्याउने छौँ । सबैको साथ र सहयोगको अपेक्षा गरेका छौँ ।

त्रिभुवन, काठमाडौँ र पोखरा विश्वविद्यालयमा हुने शैक्षिक गतिविधिलाई कुन रुपले हेरिरहनुभएको छ ? त्यसका लागि के गरिराख्नु भएको छ ? व्यथितिविरुद्ध विद्यार्थी संगठनहरु के गरिरहेका छन् ?
अनेरास्ववियूले आफ्नो प्रष्ट अवधारणा बाहिर ल्याएको छ । सम्बन्धित शिक्षा समिति होस या अन्य निकायमा गएर पनि बोलेको छौँ । मन्त्रीज्युहरुले बोेलाएको ठाउँमा पनि हाम्रा धारणाहरु राखेका छौँ । उच्च शिक्षा ऐन बन्ने चरणमा छ । त्यसका लागि हामीले सुझावहरु दिइसकेका छौँ । नेपालमा विश्वविद्यालयको पुरानो संरचना छ, त्यो पुरानै संरचनामा विश्वविद्यालय चलिरहेको छ । विश्वविद्यालयको ऐन कानुनले विश्वविद्यालयको कुलपति मुलुकको वर्तमान प्रधानमन्त्री रहने व्यवस्था गरेको र सहकुलपति शिक्षामन्त्री रहने व्यवस्था छ ।

मुलुकको कार्यकारी पदमा भएको व्यक्ति विश्वविद्यालयको नेतृत्वमा कुलपति रहँदैगर्दा विश्वविद्यालयभन्दा जनताको दैनिक जनजीवनमा र राजनीतिक विषयमा मात्र केन्द्रित हुनेगर्दा विश्वविद्यालयको समस्या समाधान गर्ने कार्यकारी सिनेट वर्षमा दुई पटक बस्न सकेको छैन । विश्वविद्यालयबाट परीक्षा भएको एक वर्ष भइसक्दा पनि रिजल्ट दिन सकेको छैन । के समस्या हो त्यसलाई सिनेटबाट समाधान गर्ने समय प्रधानमन्त्रीसँग हुँदैन । त्यसैले अब कार्यकारी पदमा भएको राजनीति नेतृत्व विश्वविद्यालयको कुलपति हुने व्यवस्था परिवर्तन गर्नुपर्छ । विश्वविद्यालयको संरचना शक्तिशाली संरचना बनाउनुपर्छ । ताकि विश्वविद्यालयको जनशक्तिलाई बजारसँग जोड्ने काम कार्यकारी पदमा भएको व्यक्तिले गर्नुपर्छ । कुलपति बनाएर सरकारले पनि त्यसको अविभावकत्व लिने अवधारणा ल्याउनुपर्छ । अनि विश्वविद्यालयमा देखिएको समस्या र नेपालमा विद्यालय शिक्षा पूरा गरिसकेका विद्यार्थीहरुको रुचीलाई हामीले विस्तारै परिवर्तन गर्न सक्छौँ ।

आज बजार एकातिर छ, हाम्रो पाठ्यक्रम एकातिर छ । सिमित साक्षरताको जनशक्ति निर्माण गर्ने उद्देश्यकासाथ काम गर्नुपर्छ । मुलुकको राष्ट्रिय आवश्यकताका लागि जनशक्ति कति हो ? त्यो कुरा बुझ्नपर्छ । विदेश निर्यात गर्ने जनशक्ति जसले आजको रेमिटेन्समा पनि उन्नत रेमिटेन्स भित्रयाउन सक्छ । त्यसका लागि नीति निर्माण गर्न सक्ने अनुसन्धान केन्द्रहरु विश्वविद्यालयहरु बन्नसक्ने अवधारणा पत्र बनाउन सकिन्छ र योजना ल्याउन सकिन्छ भन्नेमा विश्वस्त छौँ । आजको विश्वविद्यालयको संरचना वोर्ड अफ ट्रस्टीको अवधारणामा मात्र हुन सक्छ भन्ने कुरामा हामी दृढ छौँ ।

बोर्ड अफ ट्रस्टीको अवधारणाको कुरालाई महोत्सवमा उठान गरी ल्याउन सक्ने वा प्रवेश हुने सम्भावना कतिको छ ?
महोत्सवका कार्यक्रममा यी बहसहरु गर्नेछौँ । विश्वविद्यालय सुधारका विषयहरु, युवा पलायनको कुरा, राजनीति र अर्थतन्त्रका विषयहरु हामीले बनाएका छौँ । युवा पलायनको समस्या नेपालको मात्र समस्या होइन् । साउथ एसियामा यो समस्याको निराकरणको लागि के गर्नुपर्छ भन्ने हिसाबले छलफल चलाउन खेजेको छौँ ।

महोत्सवमा भाग लिनको लागि पैसा तिर्न पर्छ कि पर्दैन ?
हामीले महोत्सवमा भाग लिन निशुल्क टिकटको व्यवस्था गरेका छौँ । म यही स्वदेशमा नै बसेर केही गर्नसक्छु भन्ने सोच भएका विद्यार्थीहरुलाई अवसर भरपुर लिन सकुन भनेर हामीले कोसिस गरेर निःशुल्क पासको व्यवस्था गरेको छौँ ।

Share This:
सम्बन्धित खबर
Loading...