मेयर बालेनले भने– ‘गरिब र असहायको उपचार काठमाडौँ महानगरले गर्छ’
काठमाडौँ, १६ वैशाख । काठमाडौँ महानगरपलिकाका प्रमुख बालेन साहले नेपालका जुनसुकै पालिकाका गरिब तथा असहायको काठमाडौँ महानगरपालिकाले उपचार गर्ने बताउनुभएको छ ।
आइतबार सामाजिक सञ्जालमार्फत् उहाँले भन्नुभएको छ, ‘नेपालको जुनसुकै पालिकाको भएपनि अशक्त र गरिब नागरिक बिरामीहरुले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला, हामीसँग ४३ अस्पतालका ३२३ बेड आबद्ध छन्, त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुनेछ ।’
उहाँले त्यसबारे टोल छिमेक वा आफन्तहरुलाई समेत जानकारी दिन आग्रह गर्नुभएको छ ।
प्रमुख साहले त्यसबारे विस्तृत जानकारीका लागि महानगरपालिकाको स्वास्थ्य विभागको सम्पर्क नम्बर ११८० मा सम्पर्क गर्न समेत आग्रह गर्नुभएको छ ।