काठमाडौँ, १५ चैत । प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई सात स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै एमेच्योर सदभाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत छैटौँ प्रतियोगिता सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसीपको उपाधि जितेका छन् ।
अन्तिम दिन ३–अन्डर ६९ को स्कोरसहित समग्रमा १४–अन्डर २७४ सहित सदभावले तेस्रो पटक टुरको प्रो र एमेच्योर दुवैतर्फको उपाधि आफ्नो नाममा लेखाए । यो सिजन उनले जितेको यो दोस्रो उपाधि हो । जारी सिजन दुई उपाधि जित्ने उनी मात्रै हुन् । यसअघि उनले यो सिजन सूर्य नेपाल सेन्ट्रल ओपन र गत सिजन सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका थिए ।
अन्तिम १८ होलको सुरूवातमा प्रो भुवन र सदभावबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिए पनि भुवनले ३–ओभर ७५ को खराब प्रदर्शन गरे । समग्रमा ७–अन्डर २ सय ८१ सहित दोस्रो भए । प्रोतर्फ भने उनी पहिलो हुँदै १ लाख ४० हजार हात पार्न सफल भए ।
एमेच्योर खेलाडीहरूको दबदबा रहँदा अर्का एमेच्योर विजय श्रेष्ठ आइन्हाउस र प्रो निरज तामाङले संयुक्तरुपमा तेस्रो स्थान बाँडे । उनीहरूले समग्रमा ४–अन्डर २ सय ८४ मा खेल पूरा गरे । आज विजयले १–अन्डर ७१ र निरजले २–अन्डर ७० को प्रदर्शन गरे । प्रोतर्फ दोस्रो भएका निरजले ९६ हजार रुपैयाँ प्राप्त गरे ।
समग्रमा इभन (पार २ सय ८८) मा खेल सकाएका दिनेश प्रजापति प्रोतर्फ तेस्रो भए । उनले आज ३(ओभर ७५) मा खेल सके । तेस्रो भएका उनले ७२ हजार नगद हात पारे ।
यसैगरी समग्रमा ४ (ओभर २ सय ९२) सहित सञ्जय लामा र धनबहादुर थापाले प्रोतर्फ संयुक्तरुपमा चौथो स्थान बाँडे । सञ्जयले २–ओभर ७४ र धनले १–अन्डर ७१ को स्कोर निकाले । उनीहरूले जनही ५४ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे ।
रवि खड्काले आज २ (ओभर ७४ )को स्कोरसहित समग्रमा ५(ओभर २ सय ९३) सहित छैटौँ स्थानमा प्रतियोगिता सकाए । छैटौँ भएका उनले ४२ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे ।
यसैगरी समग्रमा ७ (ओभर २ सय ९४) सहित रामे मगर र भुवनकुमार रोक्काले संयुक्तरुपमा सातौँ स्थान बाँडे । दुवैले आज २ (ओभर ७४) मा खेल सकाए । उनीहरूले जनही ३७ हजार २५० नगद हात पारे ।
धरानका दुई प्रो युवराज भुजेल र बलभद्र राईले समग्रमा ११ (ओभर २ सय ९९ सहित नवाँै स्थान बाँड्दा जनही ३२ हजार नगद हात पारे । युवराजले आज ८ (ओभर ८०) र बलभद्रले ४(ओभर ७६) मा खेल सके ।
प्रो भुवन र सदभावबीच आज खेलको सुरुवात गर्दा सदभावसँग मात्र एक स्ट्रोकको अग्रता थियो । तेस्रो होलमा भुवनले बर्डी प्रहार गर्दै खेल बराबरीमा ल्याएका थिए । तर छैटौँ होलमा भुवनले बोगी प्रहार गर्दा सदभावले एक सट बचाए । छैटौँ होलको समाप्तिमा सदभावले दुई स्ट्रोकको अग्रता बनाए । टर्निङ प्वाइन्ट भने सातौँ होल बन्यो ।
भुवनले दोस्रो सट पोखरीमा खस्यो । त्यहाँबाट हानेको प्रहार पुनः पानीमै पुग्यो र उनले यो होलमा डबल बोगी खेप्दा सदभावले चार स्ट्रोकको अग्रता बनाए । यसपछि आठौँ र नवौँ होलमा फेरि एक–एक सट गुमाउँदा भुवनले फ्रन्ट नाइन ४ (ओभर ४०) मा सके । सदभावले १ (अन्डर ३५) मा फ्रन्ट नाइन पुरा गरे । फ्रन्ट नाइन सकिँदा सदभावले भुवनलाई ६ स्ट्रोकले पछि पारिसकेका थिए ।
बोगीरहित खेलेका सदभावले १२औँ र १७औँ होलमा बर्डी प्रहार गरे र ब्याक नाइन २ (अन्डर ३४) मा सकाए । यसरी सहजै सदभाव च्याम्पियन बन्दै फेरि एक पटक प्रो गल्फरहरूलाई पछि पार्न सफल रहे ।
लगातार तीन दिनका लिडर भुवनले अन्तिम दिन संघर्ष गरे र ब्याक नाइन १ (अन्डर ३५) मा खेल पुरा गरे । १३औँ, १४औँ र १८औँ होलमा बर्डी प्रहार गरे भने १५औँ र १६औँ होलमा एक–एक सट बचाए । यसरी भुवनले समग्रमा दोस्रो र प्रोतर्फ पहिलो स्थान प्राप्त गरे ।
एमेच्योर विजयले टुरमा करिअरकै उत्कृष्ट प्रदर्शन गरे । उनले फ्रन्ट नाइन इभन–पार ३६ मा सकाए । पहिलो र पाँचौँ होलको बोगीविरूद्ध तेस्रो र सातौँ होलमा एक–एक सट बचाए । यसपछि ११औँ होलको बर्डीले ब्याक नाइन १–अन्डर ३५ मा सकाए । सूर्य नेपाल गल्फ टुरमा उनी पहिलोपट एमेच्योरतर्फ दोस्रो भए ।
धरानका निरजले चौथो होलमा बोगी प्रहार गरे भने पहिलो, तेस्रो र नवौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन २–अन्डर ३४ मा पुरा गरे । यसपछि १४औँ र १५औँ होलमा एक–एक सट बचाए भने १६औँ र १८औँ होलमा बोगीको सामना गर्दै ब्याक नाइन इभन–पार ३६ मा सकाए ।
कुल ८ लाख ४० हजार नगद पुरस्कार राशि रहेको प्रतियोगितामा कट बनाएका २३ प्रो गल्फरमध्ये उत्कृष्ट २१ जनले नगद पुरस्कार प्राप्त गरे ।