काठमाडौँ, १० चैत । टी–२० फ्रेनचाइज इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा चेन्नाइ सुपर किंग्सले विजयी सुरुवात गरेको छ ।
रोयल च्यालेन्जर्स बैंगलोरमाथि ६ विकेटको जित निनकाल्दै चेन्नाइले विजयी सुरुवात गरेको हो ।
टस जितेर पहिला ब्याटिङ गरेको बैंगलोरले ६ विकेटको क्षतिमा एक सय ७३ रन बनाएको थियो । बैंगलोरले दिएको १७४ रनको लक्ष्य चेन्नाइले १८.४ बलमा मात्र चार विकेट गुमाएर भेट्टायो ।
चेन्नाइको जितमा रचिन रविन्द्रले सर्वाधिक ३७ रन बनाए । अजिङ्क्य रहाणेले २७ रन बनाउँदा डेरेल मिचेलले २२ रनको योगदान दिए । चेन्नाइका शिवम् दुवेले ३४ र रविन्द्र जडेजाले २५ रन बनाए ।
बैंगलोरका लागि क्यामरुन ग्रीनले २, यश दयाल र कर्ण शर्माले १÷१ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरका लागि ओपनर फ्याप डु प्लेसिसले ३५ रन बनाए । ओपनर विराट कोहली २१ रनमा आउट हुँदा रजत पटिदार र ग्लेन म्याक्सवेल शून्य रनमा आउट भए ।
अनुज रावतले ४८ रन बनाएर रन आउट हुँदा दिनेश कार्तिक २८ रनमा नटआउट रहे । चेन्नाइका मुस्तफिजुर रहमान एक्लैले ४ विकेट लिए ।
महेन्द्र सिंह धोनीले कप्तानी छोडेपछि चेन्नाइ ऋतुराज गायवाडको कप्तानीमा मैदानमा थियो । बैंगलोर भने फाफ डु प्लेसीको कप्तानीमा छ ।
त्यस्तै, आइपिएलमा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा पञ्जाब किंग्स र दिल्ली क्यापिटल भिड्ने छन् । यो खेल दिउँसो नेपाली समयअनुसार ४ बजे सुरु हुने छ । दोस्रो खेलमा कोलकोत्ता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ । यो खेल साँझ ८ बजे सुरु हुने छ ।