नेपाली क्रिकेटलाई सघाउँछौँ : आइसीसी अध्यक्ष बार्कले

20

काठमाडौँ, ८ चैत । आइसीसी अध्यक्ष ग्रेग बार्कलेले आफ्नो नेपाल भ्रमण अपेक्षाअनुसार राम्रो भएको बताउनुभएको छ ।

काठमाडौँमा बुधबार साँझ पत्रकार सम्मेलनको गर्दै अध्यक्ष बार्कलेले नेपाल सरकार र खेलकुद परिषद् पदाधिकारी क्रिकेटको विकासका लागि सकारात्मक हुनु सुखद् रहेको बताउनुभयो ।

‘नेपालको छोटो अवधिको भ्रमण फलदायी रह्यो । यहाँको क्रिकेटको अवस्थालाई लिएर धेरै भेटघाट र बैठक गरियो । प्रधानमन्त्री, खेलकुद मन्त्री, खेलकुद परिषद् पदाधिकारीसँग भेटघाट भए । म सबैप्रति आभार व्यक्त गर्न चाहन्छु,’ उहाँले भन्नुभयो, ‘सबैजना क्रिकेटप्रति सकारात्मक पाएँ । नेपाली क्रिकेटको प्रगतिप्रति आशावादी हुन सकिन्छ ।’

नेपाली क्रिकेटलाई आइसीसीको निरन्तर सहयोग गरिरहेको उहाँले स्मरण गराउनुभयो । ‘नेपालको क्रिकेटलाई आइसीसीले हेरिरहेकै छ । हामी कसरी नेपाली क्रिकेट अगाडि बढ्छ भन्नेमा सघाउँदै आइरहेकै छौँ,’ उहाँले भन्नुभयो, ‘भविष्यमा पनि आइसीसीले गर्न सक्ने सहकार्यलाई निरन्तरता दिने नै छ ।’

त्यस्तै, पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आइसीसी अध्यक्ष बार्कलेको नेपाल भ्रमणले आइसीसी नेपाली क्रिकेटको विकासका लागि सहयोग गर्न इच्छुक रहेको पुष्टि भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आइसीसी अध्यक्ष नेपाल आएर नेपाली क्रिकेट जगतको विकासका लागि सकारात्मक रहेको सन्देश प्रवाह भएको छ । नेपाल सरकार क्यान पनि प्रेरित भएको छ । हामीमा खेलकुदका संरचनाको विकास र खेलाडीको क्षमता विकासका लागि ऊर्जा मिलेको छ ।’

अध्यक्ष बार्कलेले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालसँगै खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राखेप सदस्यसचिव टंकलाल घिसिङसँग भेटघाट गर्नुभएको थियो । भेटमा प्रधानमन्त्री दाहालले क्रिकेटप्रति नेपाल आशावादी रहेकाले पूर्वाधारमा लगानी बढाएको जानकारी गराउनुभएको थियो ।

चारदिने औपचारिक भ्रमणमा नेपाल आएका आइसीसी अध्यक्ष बार्कले बिहीबार फर्किने कार्यसूची छ ।

Share This:
सम्बन्धित खबर
Loading...