चेल्सी र म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा

20

काठमाडौँ, ५ चैत । एफए कप फुटबलमा चेल्सी र म्यानचेस्टर युनाइटेडले सेमिफाइनलमा स्थान बनाएका छन् । आइतबार राति भएको खेलमा चेल्सीले लेस्टर सिटीलाई र म्यानचेस्टर युनाइटेडले लिभरपुललाई पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेका हुन् ।

चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा सम्पन्न खेलमा चेल्सीले लेस्टर सिटीलाई ४-२ गोलले पराजित गरेको हो । खेलको १३औँ मिनेटमा मार्क कुकुरेलाले गोल गर्दै घरेलु टोली चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । २६औँ मिनेटमा चेल्सी पेनाल्टीको पायो तर, उक्त पेनाल्टीमा रहिम स्टर्लिङले गोल गर्न असफल भएपछि चेल्सीले अग्रता दोब्बर मनाउने मौका गुमाएको थियो ।

पहिलो हाफको अतिरिक्त समयको पहिलो मिनेटमै कोल पाल्मरले गोल गर्दै चेल्सीलाई २-० को अग्रता दिलाए । तर, खेलको ५१औँ मिनेटमा पाहुना टोली लेस्टर सिटीले उपहार गोलमा खेल २-१ को अवस्थामा ल्याउन सफल भयो । चेल्सीका एक्सेल डिसासी आफ्नै पोस्टमा गोल गरेपछि खेलमा २-१ को रोमाञ्चक अवस्थामा पुगेको थियो ।

६२औँ मिनेटमा स्टेफी माविडिडीले गोल गरेपछि पाहुना टोली २-२ को बराबरीसँगै खेलमा फर्कियो । ७३औँ मिनेटमा पाहुना टोली लेस्टर सिटी १० खेलाडीमा सीमित बन्यो । लेस्टरका कलोमले रातो कार्ड पाएर मैदान छाडेका थिए ।

१० खेलाडीमा समेटिएको लेस्टर सिटीमाथि चेल्सीले फाइदा उठाउँदै खेलमा ४-२ को रोमाञ्चक जित निकाल्यो । चेल्सीका लागि अतिरिक्त समयको दोस्रो मिनेटमा केमीले गोल गरेपछि खेलमा ३-२ को अग्रता बनायो । अतिरिक्त समयकै आठौँ मिनेटमा नोनी मडुके गोल गरेपछि चेल्सीले ४-२ को जित निकाल्यो ।

यस्तै, ओल्ड ट्राफोर्डमा पाहुना टोली लिभरपुललाई ४-३ गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर युनाइटेडले अन्तिम चारमा स्थान बनाउन सफल भयो । निर्धारित ९० मिनेटमा २-२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियोे । जसमा युनाइटेडले २ गोल थप्दा लिभरपुलले १ गोलमात्रै फर्कायो ।

घरेलु टोली युनाइटेडको जितमा स्कट मक्टोमिने, एन्टोनी र अमाद डियालोले समान एक एक गोल गरे । लिभरपुलका लागि एलेक्सिस एलिस्टर, मोहम्मद सलाह र हर्वो इलियटले गरेको गोल सान्त्वना बन्यो ।

घरेलु टोली युनाइटेडका लागि खेलको १०औँ मिनेटमा स्कट मक्टोमिनेले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । ४४औँ मिनेटमा पाहुना टोली लिभरपुलका लागि एलेक्सिस एलिस्टरले गोल गर्दै खेल १-१ को अवस्थामा ल्याए ।

त्यसपछि पहिलो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा मोहम्मद सलाहले गोल गर्दै पाहुना टोली लिभरपुललाई २-१ को अग्रता दिलाए । खेलमा २-१ को जित नजिक पुगेको पाहुना टोली लिभरपुल अन्तिम ३ मिनेट सम्हालीन सकेन । घरेलु टोली युनाइटेडका लागि एन्टोनीले ८७औँ मिनेटमा गोल गर्दै खेल २-२ को रोमाञ्चक अबस्थमा ल्याएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

१०५औँ मिनेटमा लिभरपुलका लागि हार्भि इलिएटले गोल गर्दै ३-२ को अग्रता दिलाए । ११२औँ मिनेट युनाइटेडका लागि मार्कस रासफोर्डले गोल गरेपछि खेल ३-३ को रोमाञ्च अवस्थामा पुग्यो ।

त्यसपछि दोस्रो हाफको ८६औँ मिनेटमा मैदान छिरेका अमादले १२१औँ मिनेटमा गोल गर्दै युनाइटेडलाई ४-३ को रोमाञ्च जित दिलाए ।

Share This:
सम्बन्धित खबर
Loading...