सत्ताको जाँतोमा पिसिएको दलीय अडान

टिप्पणी

37

काठमाडौँ, ५ चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले झन्डासँगै नयाँ गठबन्धन सरकारको नेतृत्व हत्याएपछि राजनीतिक दलहरुको भूमिका, अडान र बोलीचाली पनि फेरिएको छ ।

प्रतिनिधि सभामा यसको दृश्य प्रष्टसँग देख्न सकिन्छ, दलहरु कहाँ थिए, के गर्दै थिए र अहिले के गरिरहेका छन्, के भनिरहेका छन् । कुनै रंगमञ्चमा कलाकारहरु भेष बदलेर नयाँ नयाँ अभिनयमा उत्रिएजस्तै लाग्छ संसद्‌मा दलहरुको बदलिएको भूमिका हेर्दा ।

यसको मुख्य कारण खोज्न निधार खुम्च्याइरहनै पर्दैन, सत्ता नै यसको चुरो कारण हो भन्ने कुरा सहजै पत्ता लाग्छ । पुरानो गठबन्धनमा रहेका दलहरु र उसबेला प्रतिपक्षमा रहेका र अहिले नयाँ गठबन्धनको लगनगाँठोमा कसिएका दलहरुको चालढाल हेर्‍यौँ भने मनोरञ्जनका लागि कुनै वातानुकूलित चलचित्र घरभित्र पसिराख्नै पर्दैन ।

सत्ताबाट निमेषभर पनि जमिनमा नटेकी झन्डासँगै नयाँ सत्ताको नेतृत्वमा सरेका प्रधानमन्त्री दाहालको परिवर्तित चालढाल, बोलिचाली र भावभंगिमा नै रोचक लाग्छ । सत्तोसराप गरिरहेका नेतालाई उहाँ जीवनसाथी जसरी अगाध माया गरिरहेका देखिन्छन् भने घनिष्ठ मित्रता रहेको पुरानो सहयात्रीलाई सौतेनी आमाका सन्तानलाई झैँ व्यवहार गरिरहेका पाइन्छन् । यो प्रवृत्ति केवल दाहालमा मात्र लागु हुँदैन, अरु दलहरुका शीर्ष नेतृत्वमा पनि सत्ताले संक्रमण गरेको यो मनोरोग देखिन्छ ।

प्रतिनिधिसभामा तेस्रो ठुलो दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पाँच दलीय नयाँ गठबन्धन सरकारको नेतृत्व गरिरहनुभएको छ ।

उहाँले १५७ सांसदको विश्वासको मत पाउनुभएको छ भने विपक्षमा ११० मत परेको थियो ।

२०७९ को आमनिर्वाचनपछि १० पुसमा पनि दाहाल प्रधानमन्त्री चुनिनुभएको थियो । त्यसयता निरन्तर उहाँ नेतृत्वको सरकार रहे तापनि तेस्रोपटक गठबन्धन र मन्त्रीहरू फेरिएका छन् र सोहीअनुसार प्रधानमन्त्रीले विश्वासको मत लिनुभएको थियो ।

सत्ता पाएपछि सडक परित्याग
सरकारको कार्यशैलीको विरोध गर्दै देशव्यापी विरोध प्रदर्शनमा उत्रिसकेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ गठबन्धनमा आफूले चाहेजस्तो पद पाउनेबित्तिकै सरक्क सडक परित्याग गरेको छ । रास्वपाका सभापति रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृहमन्त्रालयको नेतृत्व पाएपछि रास्वपाले दबाब यात्रा स्थगित गरेको हो । अरुलाई पाठ सिकाउँदै आएको यो दलले किन दबाब यात्रा स्थगित गरेको हो भनेर जनतालाई स्पष्ट जानकारी भने दिएको छैन ।

रास्वपाले २१ माघदेखि २१ चैतसम्म सक्ने गरी २१ वटा आयोजनामा दबाब यात्रा गर्ने कार्यतालिका बनाएको मात्रै थिएन, पत्रकार सम्मेलन राखेर सगर्व घोषणा गरेको थियो– ‘हामी ज्ञापनपत्र बुझाउँदैनौ, आयोजनाका समस्या बुझेर समाधानपत्र दिन्छौं ।’ सत्तामा जानपरेकाले दबाब यात्रा स्थगित गरिएको भन्न नमिलेर हुनसक्छ ‘नयाँ र सिर्जनात्मक तरिकाले गर्ने गरी हाललाई दबाब यात्रा स्थगित गरिएको’ भनेर रास्वपाका महामन्त्री मुकुल ढकालले प्रष्टीकरण दिनुभएको छ ।

२१ माघमा सभापति रवि लामिछानेको नेतृत्वमा मेलम्ची खानेपानी आयोजना निर्माणमा दबाब दिन सिन्धुपाल्चोक–काठमाडौँ यात्रा गरिएको थियो । २० सांसद र महामन्त्री ढकाल गरी २१ जनाका लागि फरक–फरक आयोजनामा दबाब यात्रा गर्ने गरी सूची बनाइएको थियो ।

२१ वटा विकास आयोजनामा दबाब यात्रा गर्ने निर्णय गर्नुअघि रास्वपाले नारायणगढ–बुटबल सडकखण्डमा खबरदारी यात्रा गरेको थियो ।

अनुसन्धानको दायरामा ल्याउनुपर्छ भनेर चर्को विवादमा परेका लामिछाने अहिले फेरि सरकारको महत्वपूर्ण पदमा पुगेपछि आफैँ अनुसन्धानको निर्देशन दिन थाल्नुभएको छ । विपक्षको स्थानमा सरेको नेपाली कांग्रेसले लामिछानेको राजीनामा मागिरहेको छ, यही कारणले संसद्को बैठक पनि प्रभावित हुन थालेको छ ।

हिजो विपक्षमा बसेको एमाले अहिले नयाँ गठबन्धनको मुख्य हिस्सेदार बनिसकेको छ । माओवादी अध्यक्ष दाहाललाई सरकारको नेतृत्वमा निरन्तरता दिँदै एमाले नयाँ गठबन्धनमा प्रवेश गरेको हो ।

हिजो एमाले केही मन्त्रीहरुलाई क्षणभर पनि सत्तामा बसेको देख्न चाहिरहेको थिएन । प्रधानमन्त्री दाहाललाई तारो बनाएर उसले निरन्तर सरकारको आलोचना गरी नै रहेको थियो । पानी बाराबारको स्थितिमा रहेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम उच्चारण गरेपछि मुखमा पानी हालेर कुल्ला गर्छु भन्ने अध्यक्ष केपी शर्मा ओली सत्ताकै खातिर तिनै नेपालको निवासमा निहुरिएर छिर्न पुगे ।

सत्ता परिवर्तनको सेरोफेरोमा देखिएका केही रोचक दृश्यहरु हुन् यी । विगतदेखिका राजनीतिक घटनाक्रम केलाउँदै जाने हो भने सबै दलका नेता र दलहरुको असली मुहार ठम्याउनै मुस्किल हुनसक्छ ।

निर्वाचनका समयमा हुने गठबन्धन र सरकार बनाउँदा हुने गठबन्धनले राजनीतिमा कोही पनि स्थायी शत्रु र स्थायी मित्र हुँदैन भन्ने उक्तिलाई अक्षरशः चरितार्थ गरेको देख्न सकिन्छ ।

सँगै बसेको आसनको तातोपन नसेलाउँदै एकले अर्कालाई धोकेबाज देख्ने र भविष्यमा गरेर देखाउन चुनौती दिने प्रवृत्ति पनि हालै भएको सत्ता गठबन्धन परिवर्तनकालमा देखियो । माओवादी केन्द्र र कांग्रेसको नेतृत्वले यो शैली प्रस्तुत गरिसकेका छन् । एमाले र समाजवादीको जस्तो चर्को र घुर्यानस्तरको नभए पनि उनीहरुको दोहोरी राजनीतिमा आउन चाहने नयाँ पुस्ताका लागि अध्ययनको रोचक विषय भने हुने छ ।

सत्ता गठबन्धनमा रहँदा कांग्रेस शीर्ष नेतृत्वले निरन्तर दाहालको पक्षपोषण गरेको थियो । जसका लागि पार्टीभित्रै सभापति शेरबहादुर देउवा आलोचनाको सिकार हुनुभएको थियो । सत्ता समीकरणका लागि दलीय गठजोड टुट्न अघिल्लो दिनसम्म पनि माओवादी र कांग्रेसका मन्त्रीहरु गठबन्धन लामो टिक्ने भाषण गरिरहेका थिए ।

सत्ताबाट बाहिरिँदा कांग्रेस ब्युँझिएको हुनुपर्छ । तर, अझ पनि प्रतिपक्षको बेञ्चबाट बलिया मुद्दा उठान गर्न सकेको भने छैन । बहुमत पुर्‍याएर सत्तामा रहिरहन चाहनु प्रमुख राजनीतिक दलहरुको नियमित अभ्यासजस्तै भइसकेको छ ।

अहिलेको गठबन्धनले न्यूनतम साझा कार्ययोजना बनाएको छ । त्यसमा कस्ता योजना छन्, सरकार कसरी अघि बढ्छ भन्ने चाहिँ समयले नै देखाउने छ । केन्द्रमा सत्ता समीकरण परिवर्तनको असर प्रदेशस्तरमा पनि परिसकेको छ । यसले एउटा नियमित संरचना खल्बल्याएको मात्रै छैन, सत्तामोहले दलहरु अस्थिर चित्तका छन् भन्ने प्रष्ट पारेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...