रञ्जना लिपी लेख्न र सिक्न ‘नित्या रञ्जना’ युनिकोड सार्वजनिक

45

काठमाडौँ, ४ चैत । नेपाल कला परिषद्‌मा ‘नित्या रञ्जना’ (रञ्जना युनिकोड) फन्ट सार्वजनिक गरिएको छ । रञ्जना नेपालको मौलिक लिपी हो । मौलिक र प्राचीन भइकन पनि यी अक्षरहरुको प्रयोग, प्रवर्धन हुन सकेको थिएन । यसकारण लिपी संरक्षणमा चुनौती बढ्दै थियो । यो जोखिमबाट बचाउन तथा संरक्षण र प्रवर्द्धन गर्न युवाहरुले लिपीलाई प्रविधिसँग प्रयोग अनुकुल बनाउने काम थाले । क्यालिजात्रा फाउन्डेसनमा आवद्ध युवाहरुको सक्रियताले लिपी प्रविधिले ग्रहण गर्न सक्ने, कम्प्युटरमा लेख्न र लिपी सिक्न सक्ने स्वरुपमा रुपान्तरण भयो । यही लिपी सार्वजनिक भएको हो । यो लिपीलाई इण्डो आर्यन, मंगोल, भोट बर्मन जातिको इतिहास, अस्तित्व र पहिचान जोडिएको छ ।

लिपी सार्वजनिक गर्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले मौलिक लिपी विश्वव्यापीकरण भएको क्षणले सपना पूरा भएको, जीवनमा हर्षविभोर भएका पलहरुमा स्मरण भइरहने खुसी प्राप्त भएको बताउनुभयो ।

सन् २०१९ मा विश्वभर फैलिएको कोभिड १९ को महामारीका समयमा घर बाहिर निस्कन नपाउँदाका बखतको स्मरण गर्नुहुँदै उपप्रमुख डंगोलले भन्नुभयो, ‘त्यसबेला प्रविधिमा लिपी रुपान्तरण गर्ने अभ्यास गर्‍यौँ । विश्वभरका लिपीविज्ञ र जिज्ञासुहरुसँग अन्तरक्रियात्मक छलफल गर्‍यौँ । ती कठिन दिनहरुको नतिजा आज प्राप्त भएको छ ।’

‘सन् २०१९ मा जापानमा भएको लिपी सम्मेलनमा रञ्जना लिपीको प्रस्तुतीकरण भएको थियो । सम्मेलनको अन्त्यमा, लिपीलाई सबैले हेर्न सक्ने, देख्न सक्ने र प्रयोग गर्न सक्ने बनाउन प्रतिवद्धता गरिएको थियो । आज त्यो प्रतिवद्धता पूरा भएको छ,’ डंगोलको भनाइ थियो ।

कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले आफ्नै मौलिक लिपीमा भाव प्रकट गर्न सक्ने स्वरुपमा ल्याउनु ठुलो उपलब्धि भएको उल्लेख गर्नुभयो । प्रविधिमा आधारित प्रयोगले लिपी संरक्षणमा योगदान पुग्ने उहाँको भनाइ थियो ।

काठमाडौँ महानगरपालिकाले ठाउँको प्राचीन नाम पुनरुत्थान गर्दैछ । नित्या रञ्जना लिपीले हाम्रो कामलाई सहयोग हुन्छ । सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले भन्नुभयो, ‘महानगरपालिकाभित्रको कला, साहित्य, सिर्जना र लिपीजस्ता मूर्त अमूर्त सम्पदाको संरक्षण प्रवर्द्धनमा काम गर्ने व्यक्ति, समुदाय तथा संघसंस्थाहरुलाई हामी प्रोत्साहन गर्नेछौँ ।’

कार्यक्रममा बोल्दै इजरायलका लागि नेपालका पूर्वराजदूत डांअञ्जना शाक्यले, महानगरपालिकाकी उपप्रमुख डंगोलको लिपी संरक्षण अभियान र प्राप्त लिपी क्वीन उपाधिका विषयमा चर्चा गर्दै लिपी पुस्तान्तरणमा उहाँको योगदान उच्च स्थानमा रहेको उल्लेख गर्नुभयो । युवाहरुको संकल्पले संस्कृतिको पहिचान संरक्षण र विश्वव्यापीकरणमा योगदान पुग्ने कुरा लिपी सार्वजनिक भएपछि प्रमाणि भएको उहाँको भनाइ थियो ।

लिपीलाई प्रविधिमैत्री बनाउने क्रममा फाउन्डेसनले लिपीसँग राष्ट्रिय अन्तर्राष्ट्रिय पहिचान, भाषिक, सांस्कृतिक तथा पर्यटकीय सम्बन्ध, मूर्त अमूर्त सम्पदाको पहिचान र संरक्षणको नातालगायत विषयमा छलफल तथा गोष्ठीबाट पृष्ठपोषण लिइएको थियो ।

फाउन्डेसनका अध्यक्ष आनन्दकुमार महर्जनकाअनुसार रञ्जना लिपीलाई डिजिटलाइजेसन गर्न भारतको फन्ट डिजाइन कम्पनी एक टाइपसँग सहकार्य गरेको हो । यसमा फन्ट विकासकर्ता तथागत विश्वास, सारंग कुलकर्णी, नुपुर दात्ये छन् ।

युनिकोड फन्ट निःशुल्क उपलब्ध हुनेछ । देवनागरिक युनिकोडका साथै नेवा युनिकोडमा पनि उपलब्ध हुनेछ । यो स्क्रीन, प्रिन्टिङ र वेबका लागि अनुकुलित छ ।

कार्यक्रममा लिपि विशेषज्ञहरु राम खइतु, अनिल स्थापित, शिव डंगोल, रातन कर्ण, अशोकमान सिंह, दर्शन शाक्य, सनिर कर्माचार्य, मोबिनसन शाक्य, रविन्द्र पाछैसहित क्यालिग्राफर, टाइपोग्राफर, डिजाइन प्रोफेसनल, फन्ट डिजाइनरहरुका बीच लिपी संवाद (लिपी टक) भएको थियो । यसमा लिपि तथा भाषा क्षेत्रमा काम गर्ने सूचना प्रविधि (आइटी) विज्ञहरु, भाषा तथा लिपि अभ्यासकर्ताहरुले भाग लिनुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...