सुन तस्करीको प्रतिवेदन चाँडै कार्यान्वय गर्ने मन्त्रिपरिषद्को निर्णय

44

काठमाडौँ, २ चैत । सरकाले सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले तयार गरेको प्रतिवेदनको अध्ययन गरी तत्काल कार्यान्वयनको प्रक्रियामा लैजाने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले हिजो (चैत्र १ गते) गृहमन्त्रीलाई बुझाएको उक्त प्रतिवेदनको गम्भीर अध्ययन गरी तत्काल कार्यान्वयनका लागि प्रक्रियामा लैजाने निर्णय गरेको हो ।

केहीबेर अघि बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारकी प्रवक्ता रेखा शर्माले आयोगले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बुझाएको प्रतिवेदन चाँडै कार्यान्वयनमा लाने निर्णय भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सुनको अवैध पैठारी तस्करी नियन्त्रणसम्बन्धी जुन हामीले जाँचबुझ आयोग गठन गरेको थियौं । त्यसले २०८० चैत्र १ गते उपप्रधान तथा गृहमन्त्रीलाई बुझाएको प्रतिवेदनको गम्भीर अध्ययन गरी तत्काल कार्यन्वयनका लागि प्रक्रियामा लैजाने भन्ने बैठकले निर्णय गरेको छ ।’

मन्त्रिपरिषद्को शुक्रबारको बैठकले दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को सरूवा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले एआइजी श्यामलाल ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय कार्य विभागबाट केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) सरूवा गरेको छ । त्यहाँ रहनुभएकी सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यलाई नेपाल प्रहरीको कार्यविभागमा सरूवा गर्ने निर्णय गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...