काठमाडौँ, १ चैत । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले त्रिवि क्रिकेट मैदानको फ्लड लाइट राख्ने विषयमा चासो देखाउनुभएको छ ।
मन्त्रालयको नेतृत्वको जिम्मेवारीमा आउनुभएका श्रेष्ठलाई बिहीबार बधाई तथा शुभकामना दिन गएको नेपाल क्रिकेट संघ क्यानका उपाध्यक्ष रोशन सिंहको नेतृत्वको टोलीसँग उहाँले यस विषयमा चाँडै निर्णय हुने बताउनुभयो ।
टेन्डर आह्वान भएर पनि रद्द भएको फ्लड लाइट निर्माण गर्ने विषयमा आफू सकारात्मक रहेको र क्रिकेटको विकासमा विशेष ध्यान दिने पनि मन्त्री श्रेष्ठले बताउनुभयो । क्यानका पछिल्ला गतिविधिबारे चासो राख्दै उहाँले सरकार पनि क्रिकेटको विकासमा सधैँ साझेदार हुने विश्वास दिलाउनुभएको थियो ।
उहाँले आफूले सानैदेखि क्रिकेट खेल पनि फलो गरेको बताउँदै अहिलेको सफलताले नेपालको नाम अन्तर्राष्ट्रिय जगतमा पुर्याउन सफल भएकोमा खेलाडी र क्यान सबै धन्यवादका पात्रहरु भएको पनि बताउनुभयो ।
यस्तै, क्रिकेटको पूर्वाधार निर्माणको विषयमा आफू लाग्ने प्रतिबद्धता उहाँले जनाउनुभयो । भर्खरै मन्त्रालयको जिम्मेवारी सम्हालेकाले बुझ्न केही दिन लागे पनि सकारात्मक नतिजा निकाल्ने गरी काममा केन्द्रित हुने पनि उहाँले बताउनुभयो ।
कीर्तिपुर क्रिकेट मैदानको सम्झौता सकिने लागेको विषय आफैँ निकाल्दै मन्त्री श्रेष्ठले सम्झौता नवीकरण गरेर पूर्वाधारको कामलाई पनि तीव्र गतिमा अघि बढाउने उल्लेख गर्नुभयो । मूलपानी क्रिकेट मैदान र धनगढीको फाप्लाका विषयमा पनि उहाँले चासो देखाउनुभएको थियो ।
मन्त्री श्रेष्ठलाई उपाध्यक्ष रोशन सिंहले क्रिकेट संघका गतिविधि र पछिल्ला उपलब्धिबारे ब्रिफिङ गर्नुभएको थियो । उहाँले युवा जोशका साथ मन्त्रालयमा आउनुभएका श्रेष्ठलाई सफलताको कामना व्यक्त गर्दै सबैले मन्त्रीबाट आशा राखेको पनि बताउनुभयो ।
मन्त्रीलाई शुभकामना दिनका लागि उपाध्यक्ष सिंहका साथै लुम्बिनी प्रदेश उपाध्यक्ष विनयराज भण्डारी, सदस्य प्रथम पराजुली र क्यानका जिएम उत्सव ढुंगाना पुग्नुभएको थियो ।