एपिएफ झापा गोल्ड कपको फाइनलमा

10

बिर्तामोड, २६ फागुन । छैटौँ झापा गोल्ड कपको फाइनलमा सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब प्रवेश गरेको छ ।

शुक्रबार भएको खेलमा चारपटकको झापा गोल्ड कपको विजेता त्रिभुवन आर्मी क्लबलाई १–० गोलअन्तरले हराउँदै एपिएफ फाइनल प्रवेश गरेको हो । जितसँगै एपिएफले कम्तिमा ७ लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ ।

एपिएफले आर्मीको आत्मघाती गोलको उपहारबाट फाइनल यात्रा गरेको हो । एपिएफका विदेशी खेलाडी फोडे फोफोनाले प्रहार गरेको बल खेलको ७०औँ मिनेटमा आत्मघाती भएको थियो । फोफोनाको प्रहार आर्मीका रक्षक कमल थापालाई लाग्दै गोल भएको थियो ।

पहिलो हाफमा दुवै टोलीले रक्षात्मक खेल खेलका थिए । खेलको ४२औँ मिनेटमा फोफोनाले दिएको क्रस पासमा एपिएफका अनिश महर्जनले गोल गर्न सकेनन् । ४७औँ मिनेटमा सर्ज सोङले पेनाल्टी एरियाबाट गरेको प्रहार बारको नजिकबाट बाहिरियो । ६९औँ मिनेटमा बुद्धिमान राईले पेनाल्टी एरियाबाट गरेको प्रहार गोलमा परिणत हुन सकेन ।

चारपटकको विजेता आर्मीले भने सशस्त्र प्रहरीसँग रक्षात्मक खेल खेलेको थियो । आर्मीले सशस्त्रविरुद्ध खासै मुभ सिर्जना गर्न सकेन । खेलको ४३औँ मिनेटमा कप्तान भरत खवासले बक्सभित्र पाएको बललाई प्रहार गर्न नसक्दा खेलमा अग्रता लिन आर्मी असफल भएको थियो ।

खेलको प्लेयर अफ द म्याच विजेता टोली सशस्त्र प्रहरीका फोडे फोफोना भए । उनले ११ हजार रुपैयाँ पुरस्कार पाए ।

प्रतियोगिताको फाइनल खेल फागुन २८ गते हुने छ । प्रतियोगितामा ए डिभिजन क्लबसहित नेपालका १० टिमको सहभागिता रहेको छ । फाइनल खेलको विजेताले नगद १३ लाखसहित ट्रफी र उपविजेताले नगद ७ लाख पाउनेछ ।

Share This:
सम्बन्धित खबर
Loading...