बिर्तामोड, २३ फागुन । क्लब स्थापनाको ९०औँ वर्ष मनाउँदै गरेको न्यु रोड टिम (एनआरटी) फुटबल क्लब झापाको बिर्तामोडमा जारी छैटौँ अर्ना झापा गोल्डकपको क्वार्टर फाइनलबाटै बाहिरिएको छ ।
चर्च ब्वाइज युनाइटेड फुटबल क्लबसँग १–० गोल अन्तरले पराजित हुँदै एनआरटी प्रतियोगिताबाट बाहिरिएको हो । कठिन जित निकालेर लिग च्याम्पियन चर्च ब्वाइजले अन्तिम चारमा आफूलाई सुरक्षित गर्न सफल भएको छ ।
चर्च ब्वाइजको जितका लागि एक मात्र गोल विदेशी खेलाडीबाट सम्भव भयो । खेलको ३६औँ मिनेटमा अवयोमी फकुन्लेले पेनाल्टी एरियाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । दायाँ साइडबाट सञ्जित राई ‘लाहुरे’ले दिएको पासलाई फकुन्लेले गोलमा परिणत गरेका थिए ।
चर्च ब्वाइजका मिलन राईले खेलको ३२औँ मिनेटमा पेनाल्टी एरियामा विपक्षी गोलरक्षकसँग वान टु वानको स्थितिमा पाएको अवसर सदुपयोग गर्न सकेनन् । उनको प्रहार गोलरक्षक पुजन होनाले उत्कृष्ट बचाउ गरे । ८५औँ मिनेटमा अनमार्क रहेका बिजु भुजेलले गोलरक्षकलाई बिट गरेर पोष्टको बायाँपट्टि गरेको प्रहार बाहिरिँदा अग्रता दोब्बर बनाउने अवसर गुमायो ।
एनआरटीले खेलको २२औँ मिनेटमा पाएको अवसर गुमायो । चर्च ब्वाइजका दीप कार्की बिट भइसकेको समयममा अनमार्क रहेका विदेशी खेलाडी ओलावाले आफिजले गोल गर्न नसक्दा खेल बराबरी गर्न चुकेका थिए । ८०औँ मिनेटमा सरोज तामाङले गरेको फ्री किक बार माथिबाट बाहिरिँदा एनआरटी स्तब्ध हुँदै घर फर्किन बाध्य भएको हो ।
एनआरटी पाँच पटकको लिग विजेता हो । एनआरटीले यो वर्ष स्थापनाको ९०औँ वार्षिकोत्सव मनाउन लागेको छ । भर्खरै सम्पन्न केपी ओली कपमा उपविजेता भएको एनआरटी लिग विजेता चर्च ब्वाइजसँग स्तब्ध भएको छ ।
खेलको प्लेयर अफ दी म्याच विजेता टिम चर्च ब्वाइजका सञ्जित राई भए । उनले ११ हजार रुपैयाँ पुरस्कार पाए ।
फागुन २८ गतेसम्म सञ्चालन हुने गोल्डकपमा झापा ११ एफसीसहित १० टोली सहभागी छन् । विजेता टोलीले नगद १३ लाख र ट्रफी पाउने छ भने उपविजेताले नगद ७ लाख पाउने छ ।