नामिबियामाथि नेपालको रोमाञ्चक जित

64

काठमाडौँ, १८ फागुन । करण केसीको उत्कृष्ट बलिङमा नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० श्रृंखलाअन्तर्गत आज भएको खेलमा नामिबियालाई ३ रनले पराजित गरेको छ ।

जितका लागि १८१ रनको चुनौती पछ्याएको नामिबिया निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७७ रनमा समेटियो । नामिबियालाई अन्तिम ओभरमा जितका लागि १२ रन आवश्यक रहेकामा नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्दै नामिबियालाई ८ रन मात्रै दिए । योसँगै अन्ततः नेपालको जित सुनिश्चित भएको हो । यो जितसँगै दुई अंक जोडेको नेपालले फाइनल खेल्ने सम्भावना प्रबल बनाएको छ ।

नामिबियाको यो हारपछि पनि अंक तालिकामा भने समान दुई अंक नै छ । नेदरल्यान्ड्सको दुई खेलमा चार अंक रहेको छ । नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको थियो भने नेदरल्यान्ड्ससँग २ विकेटले पराजित भएको थियो । त्यस्तै, नामिबिया बिहीबार भएको खेलमा नेदरल्यान्ड्ससँग ५९ रनले पराजित भएको थियो ।

आजको खेलमा नामिबियाका लागि कप्तान जेजे स्मिथले अर्धशतक प्रहार गरे । उनले २६ बलमा ६ चौका र दुई छक्का प्रहार गर्दै ५० रन जोडेका हुन् । जान फ्रिलिङ्कले ३७ रन जोडे भने जेपी कोट्जेले २५ र माइकल भान लिङ्गेनले १० रन बनाए । रुबेन ट्रम्पलम्यानले १४ रन जोड्दा जेन ग्रिनले अविजित २३ रन बनाए ।

बलिङतर्फ नेपालका करण केसी, सोमपाल कामी र कप्तान रोहित कुमार पौडेलले समान दुई/दुई विकेट लिए भने अभिनाश बोहोराले एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८० रनको योगफल बनाएको थियो ।

नेपालका लागि कुशल मल्लले अर्धशतक प्रहार गरे । उनले ३७ बल खेल्दै एक चौका र चार छक्काको मद्धतमा ५५ रन बनाएका हुन् । कुशलले आरिफ शेखसँग पाँचौँ विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए । आरिफले आउट हुनुअघि २४ बलमा चार चौकाको सहायताले ३१ रन जोडे ।

त्यस्तै, गुलशन झाले १६ बल खेल्दै एक चौका र तीन छक्काको सहायताले २६ रन बनाए भने अनिल साहले १७ बलमा तीन छक्काको मद्धतमा २३ रन जोडे । दीपेन्द्र सिंह ऐरी आठ बलमा दुई चौका प्रहार गर्दै १६ रनमा आउट भए । कप्तान पौडेल ९ बलमा दुई चौका प्रहार गर्दै १० रनमा आउट भए । त्यस्तै सुरुवाती ब्याटर आसिफ शेख एक रनमा आउट हुँदा करण केसीले ७ र सोमपाल कामी २ रनमा आउट भए ।

बलिङतर्फ नामिबियाका बेन शिकाङ्गोलले ३ विकेट लिए भने ज्याक ब्रेसलले दुई विकेट झारे । त्यसैगरी बर्नार्ड स्कोल्ज र जान निकोल लोफटी इटनले समान एक/एक विकेट लिए । अब नेपालले भोलि नेदरल्यान्ड्ससँग खेल्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...