हेलिकोप्टरमार्फत् सुत्केरीको उद्धार

86

खाँदबारी, १९ माघ । सङ्खुवासभा जिल्ला अस्पतालबाट गर्भवती र सुत्केरीको उद्धार गरिएको छ । एक गर्भवती र एक सुत्केरीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत बिहीबार उद्धार गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विमल पौडेलका अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत दुवै जनाको उद्धार गरिएको हो । पाँचखपन नगरपालिका–३ की सुत्केरी २५ वर्षीया बिना मगर र खाँदबारी नगरपालिका–११ खर्तुवाकी गर्भवती सपना राईको हेलिकोप्टरमा उद्धार गरिएको हो । दुवैजनालाई काठमाडौँ लगिएको छ । सरकारले दुर्गम भेगमा जोखिममा परेका गर्भवती र सुत्केरीको हेलिकोप्टरमा निःशुल्क उद्धार गर्दै आएको छ ।

गर्भवती राईको गर्भमै शिशुको मृत्यु भएको थियो । अत्यधिक रक्तस्राव भएपछि उनलाई थप उपचारका लागि काठमाडौँ ‘रेफर’ गरिएको जिल्ला अस्पतालका मेडिकल अधिकृत विकास आर्चायले जानकारी दिए । त्यसैगरी, सुत्केरी मगर र उनको शिशुको स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि काठमाडौँ लगिएको हो ।

जिल्लामा हालसम्म १९ भन्दा बढी सुत्केरी र गर्भवतीको हेलिकोप्टरमा उद्धार गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...