पर्यटकको पर्खाइमा भरतपुबासी, खुल्यो दर्जनौ होमस्टे

46
  • सुरेन कुँवर

चितवन, ५ माघ । भरतपुर भ्रमण वर्ष २०२४ को घोषणा भएसँगै पर्यटकीय पूर्वाधारहरू निर्माण हुने क्रम बढेको छ । भ्रमण वर्षमा यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकलाई खाना, बस्न, पर्यटकीयस्थल घुमाउन र सँस्कृति प्रस्तुति देखाउन भरतपुरबासी तयारी अवस्थामा बसेका छन् ।

भ्रमण वर्षमा यहाँको रैथाने खाना पस्कन भरतपुरबासीले आवश्यक वस्तुहरूको उचित भण्डारण गरी राखेका छन् । भरतपुर–२४ का स्थानीय नवीन श्रेष्ठले पर्यटकलाई कोदोको र फापरको रोटी, गहतको दाल र पिडालुको तरकारी पस्कन खाद्ययान्नलाई प्रशोधन गरी भण्डार गरेको बताए । यस्तै, भरतपुर-२८ गोलाघाटका सानु चौधरीले ३०० वटा हाँसको चल्ला पाल्न सुरू गरेको जानकारी दिइन् । चौधरीले एक दिनमा १०० जना पर्यटकलाई पुग्ने गरी घुंगीको सेट पस्कन सक्ने गरी तयारी पनि गरेको बताइन् ।

भ्रमण वर्षमा आउने पर्यटकलाई राख्ने गरी पछिल्लो समय दर्जनौ होमस्टेहरू खुलेका छन् । दर्जनौ होमस्टे थप भएसँगै महानगरको मेघौली गोलाघाट, पटिहानी जगतपुरलगायतका पर्यटकीय गन्तव्यमा करिब २०० बेड क्षमताको होमस्टेमा आवसको सुविधा रहेको छ ।

भरतपुर महानगरपालिकामा दैनिक ७ हजार पर्यटकलाई आवस सुविधा दिन सकिने व्यवस्था रहेको छ भने गैँडाकोटा र सौरहालाई समेट्दा १५ हजार ७ सय पर्यटक राख्न सकिने तथ्यांक छ ।

भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गरी भरतपुरमा जिप सफारीको संख्या वृद्धि गरिएको छ । पर्यटकको मुख्य रोजाइ जंगल सरफारी हुने अनुमानका साथ जिप सफारी गाडी थप गरिएको हो ।

भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ सल्लहाकार विश्वराज सुवेदीले यसअघि एक दर्जनमात्र जिप सरफारी रहेकोमा अहिले तेब्बर जिपहरू थप गरिएको बताए । जिप सफारी गर्न चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरबाट प्रवेश गर्ने व्यवस्था रहेको छ । भरतपुरका राप्ती र नारायणी नदीको तटीय क्षेत्रमा बनेका होटलहरूले आफ्नै जिप सफारी सञ्चालन गर्दै आएका छन् भने अब जिप सफारीको छुट्टै व्यवस्था गर्न लागिएको छ ।

कसराबाट १ घन्टादेखि ४ घन्टासम्म जिप सफारीको प्याकेज रहेको छ । यस्तै, राप्ती तथा नारायणीमा डुंगा थप गर्ने तयारी पनि भइरहेको पर्यटन विज्ञ सुवेदीले जानकारी दिए ।

भरतपुरमा वार्षिक ३० हजार बाह्य पर्यटक आउने तथ्याङ्क रहेकोमा भ्रमण वर्ष २०२४ मा २ लाख बाह्य पर्यटक र ५ लाख आन्तरिक पर्यटक भित्र्याउने महानगरपालिकाले लक्ष्य लिएको छ । पर्यटकलाई केही नयाँ कुरा दिउँ भन्ने उद्देश्यले विशेषगरी चितवन राष्ट्रिय निकुञ्ज अवलोकन, हात्ती सफारी र जिप सफारीका लागि पर्यटक आउने गरेका छन् ।

भ्रमण वर्षमा पर्यटकलाई बाघ देखाउने गरी भरतपुर ६ देवनगरमा निर्माण गरिएको बाघको केज निर्माण भइसेको छ । अबको केही दिनमा चितवन राष्ट्रिय निकुञ्जको उद्दार केन्द्रमा रहेको बाघलाई यहाँ स्थान्तरण गर्न लागिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल पुर्जाले जानकारी दिए । यही स्थानमा गैँडा पनि राख्न मिल्ने गरी तारबारको काम पनि अघि बढाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...