कास्की, १४ मंसिर । पोखरामा जारी ‘केपी ओली कप टी—२० राष्ट्रिय क्रिकेट’ मा विभागीय त्रिभुवन आर्मी क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा आर्मीले बागमती प्रदेशलाई ४ विकेटले पराजित गरेको हो ।
आर्मीले जितका लागि पाएको १२८ रनको विजयी लक्ष्य १५ ओभरमा पूरा गर्यो । टस जितेर बयाटिङ गरेको बागमतीले निर्धारित २० ओभर पूरै खेल्दै ७ विकेटको क्षतिमा एक सय २७ रन बनाएको थियो ।
बागमतीका प्रतीक श्रेष्ठले ३५ बलामा चार छक्का र तीन चौकाको मद्धतमा अर्थशतकको योगदान दिए पनि टोलीलाई फाइनल पुर्याउन असफल भए । यसैगरी कप्तान सन्दीप लामिछानले १९, रीत गौतमले १४, इशान पाण्डेले १२ रन बनाए । ‘प्लेयर अफ दी म्याच’ घोषित आर्मीका सहाव आलमले ४ तथा सोमपाल कामीले २ र विवेक यादवले एक विकेट लिए ।
आर्मीले विजयी लक्ष्य १५ ओभरमा छ विकेट गुमाएर पूरा गर्न सफल भयो । आर्मीका भीम सार्कीले सर्वाधिक ३९ रनको योगदान दिए। कुशल मल्लले २७ र विनोद भण्डारीले २५ रन बनाए ।
बागमतीका सन्दीप लामिछानले २ तथा प्रतीश जिसी, इशान पाण्डे, सोनु देवकोटा रीत गौतमले समान एक–एक विकेट लिए ।