काठमाडौँ, २ मंसिर । सन् २०२३ को आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनल आइतबार भारतको अहमदावादमा खेलिने छ । १२ वर्षपछि फाइनल पुगेको भारत र ५ पटकको विश्वकप विजेता अष्ट्रेलियाबीच उपाधिका लागि खेल हुने छ । विश्वकपको इतिहासमा यो दोस्रो पटक हो जब दुवै टोली आमनेसामने हुने छन् ।
बिबिसीका अनुसार दुवै टिम हरेक ४–४ वर्षको अन्तरालमा हुने यस प्रतियोगिताको ट्रफी आफ्नो नाम गर्न चाहन्छ । तर, यहाँ कुरा विश्वकप ट्रफीको मात्रै छैन पुरस्कार राशीको पनि छ ।
जारी विश्वकपको उपाधि जित्ने टिमले ४० लाख अमेरिकी डलर अर्थात् झन्डै ५२ करोड ८० लाख नेपाली रूपैयाँ हात पार्ने छ । त्यस्तै, टुर्नामेन्टको उपविजेताले २० लाख अमेरिकी डलर अर्थात् झन्डै २६ करोड ४० लाख नेपाली रूपैयाँ प्राप्त गर्ने छ ।
त्यतिमात्र होइन सेमिफाइनलमा पराजित भएको न्युजिल्यान्ड र दक्षिण अफ्रिका दुवै टोलीले समान ८÷८ लाख रूपैयाँ अर्थात् झन्डै १० करोड ६५ लाखभन्दा बढी रकम प्राप्त गरेका छन् ।
त्यस्तै, लिग स्टेजबाट बाहिर हुने सबै टिमले एक–एक लाख अमेरिकी डलर अर्थात् २० लाख ८० हजार रूपैयाँ पाएका छन् ।
त्यसबाहेक लिग स्टेजमा सबै १० टिमका बीच भएका ४५ म्याचको विजेता टिमले प्रत्येक खेल जितेवापत ५३ लाख नेपाली रूपैयाँ प्राप्त गरेका छन् ।