काठमाडौँ, २९ कात्तिक । विश्वकप क्रिकेटअन्तर्गत आज सेमिफाइनलको पहिलो खेल हुँदै छ । जसमा आयोजक भारत र न्युजिल्यान्ड भिड्दै छन् । वानखेडे स्टेडियम, मुम्बईमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरू हुने छ ।
रोहित शर्माको नेतृत्वमा जारी विश्वकपमा अपराजित रहेको भारतले लिग चरणमा न्युजिल्यान्डलाई ४ विकेटले हराएको थियो । तर, सेमिफाइनलमा ढुक्क भने छैन ।
धर्मशालामा भएको खेलमा चोटका कारण न्युजिल्यान्डका कप्तान केन विलियम्सनले खेलेका थिएनन् । तर, मुम्बईमा हुने सेमिफाइनलमा उनी खेल्ने छन् ।
सेमिफाइनलको खेल अगाडि भारतीय टिमका कप्तान रोहित शर्माले भारत न्युजिल्यान्डको शक्ति र कमजोरीबारे जानकार रहेको टिप्पणी गरेका छन् । उनले न्युजिल्यान्ड सबैभन्दा अनुशासित टिम भएको बताउँदै उनले उनीहरू निकै स्मार्ट तरिकाले खेल्ने र भारतीय टिमको मानसिकताबारे समेत जानकार रहेको बताए । जारी विश्वकपमा अपराजित भारत सन् २०११ पछि पहिलो पटक फाइनलमा पुग्न चाहन्छ ।
उता न्युजिल्यान्डका कप्तान केन विलियम्सनले पनि भारत र आफ्नो टिम दुवै जितका लागि बराबरी मौका रहेको बताएका छन् । अघिल्ला दुई संस्करणमा फाइनल पुगे पनि उपाधि जित्न असफल न्युजिल्यान्ड लगातार तेस्रो पटक उपाधि भिडन्त पक्का गर्ने योजनामा हुने छ ।
भारत पछिल्ला १० वर्षमा आइसिसीले गरेको ९ वटा प्रतियोगितामा ८ पटक नकआउट चरणबाटै बाहिरिएको छ । सन् २०१९ विश्वकपको सेमिफाइनलमा भारतविरूद्ध न्युजिल्यान्ड १८ रन र २०२१ टेस्ट च्याम्पियनसिपको फाइनलमा ८ विजयी भएको थियो । भारत यी दुवै हारको बदला लिने सोचमा हुने छ भने न्युजिल्यान्ड यही नतिजा दोहोर्याउने लक्ष्यमा हुने छ ।
५९४ रन बनाएका विराट कोहली जारी विश्वकपमा सर्वाधिक रनकर्ता हुन् । उनले २ शतकसमेत बनाएका छन् । न्युजिल्यान्डका युवा स्टार रचिन रविन्द्र सबैलाई प्रभावित गरेका छन् । उनले ३ शतकको मद्धतमा ५६५ रन बनाएका छन् । जसप्रित बुमराहले ३.६५ को अविश्वसनीय इकोनोमी रेटसहित १७ विकेट लिएका छन् । मिलेच सान्टनरको नाममा १६ विकेट छ ।
हालसम्म दुई टोलीबीच कुल ११७ एकदिवसीय खेल भएका छन् । जसमध्ये न्युजिल्यान्डले ५० र भारतले ५९ खेल जितेको छ । एकदिवसीय विश्वकपमा न्युजिल्यान्डले भारतविरूद्ध ९ खेल खेल्दा ५ जित र ४ खेलमा हार व्यहोरेको छ ।