आजदेखि काठमाडौँका सडकमा भेटिएका गाईबाच्छालाई काञ्जी हाउसमा राखिँदै

23

काठमाडौँ, २२ कात्तिक । काठमाडौँ महानगरपालिकाले आजदेखि सडकमा भेटिएका गाईबाच्छालाई काञ्जी हाउसमा राख्ने भएको छ ।

दक्षिणकाली नगरपालिका–७ कोपुगाउँमा रहेको काञ्जी हाउसमा काठमाडौँका सडकमा भेटिएका गाईबाच्छालाई आजदेखि राखिने काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले जानकारी दिए ।

सडकमा छाडिएका चौपायाले खान नपाएकाले, तिर्खा लागेका बेला पानीसमेत नपाएको, बिरामी पर्दा उपचार नपाएको र सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै रहने भएकाले यस्ता जोखिमबाट जोगाउन काञ्जी हाउसमा लैजान लागिएको मेयर साहले जनाएका छन् ।

फेसबुकमार्फत् जानकारी दिँदै उनले भनेका छन्, “‘काञ्जी हाउसमा लगिएका चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरेर ल्याइसकेका छौँ । हेरचाह गर्नका लागि २ जना स्थानीयलाई दैनिक ज्यालादारीमा लिएका छौँ । दक्षिणकाली नगरपालिकाको वडा नम्बर ७ सँगको सहकार्यमा पानी, विजुलीलगायत सुविधा प्रबन्ध गर्दैछौँ ।”

आजदेखि महानगरका चारवटै क्षेत्रबाट सडकमा भएका गाईबाच्छा संकलन गरेर टेकु लगिँदै छ । संकलित गाईबाच्छालाई सुविधाजनक ढुवानी व्यवस्था गरेर काञ्जी हाउसमा लगिने महानगरले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...