जाजरकोटका सात गम्भीर घाइते भेरी अस्पताल ल्याइयो

35

बाँके, १८ कात्तिक । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पमा परी घाइते भएकाहरुको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । सो अस्पतालमा जाजरकोटबाट सातजना घाइते ल्याइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।

जाजरकोटको खलंगाकाबाट बिहान ३ बजे एम्बुलेन्सले घाइतेहरुलाई नेपालगञ्ज भेरी अस्पताल ल्याएको थियो । घाइते बिरामीहरुको शनिबार बिहान ३ बजेदेखि नेपालगञ्जको भेरी अस्पतालमा उपचार सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पवनजंग रायमाझीले जानकारी दिए ।

उनका अनुसार भूकम्पमा परी घाइते सातजनाको भेरीमा उपचार भइरहेको छ भने दश जनालाई हेलिकोप्टरबाट राँझा ल्याइँदै छ ।

घाइते बिरामीहरुको उपचारका लागि निजी अस्पताललाई पनि तयारी अवस्थामा राखिएको प्रजिअ पोखरेलले बताए । बाँकेमा रहेका भेरी अस्पताल, सैनिक अस्पताल र प्रहरी अस्पतालको १०५ वटा शय्यासमेत तयारी अवस्थामा राखिएको उनले बताए ।

गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर छ दशमलव चार रेक्टर स्केलको भूकम्प गएको थियो । सो भूकम्पमा परी ठुलो जनधनको क्षति भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...