स्थानीय तहलाई अझै प्रभावकारी बनाऔँ : उपप्रधानमन्त्री पोखरेल

140

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले संघीय व्यवस्थाको सफल कार्यान्वयनका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भएकाले ती तहले अझै प्रभावकारीरूपमा काम गर्नुपर्ने बताएका छन् ।

गाउँपालिका राष्ट्रिय महासंघ नेपालले शुक्रबार आयोजना गरेको ‘गाउँपालिकाका असल अभ्यासको सँगालो’ पुस्तकको भर्चुअलरूपमा लोकार्पण गर्दै उपप्रधानमन्त्री पोखरेलले संघ, प्रदेश र स्थानीय तहको सहकार्यले मात्र देशको समृद्धि र विकास सम्भव हुने स्पष्ट गरे । उनले स्थानीय सरकारलाई केन्द्र सरकारका तर्फबाट हुनुपर्ने साथ र सहयोग सधैँ रहने पनि स्पष्ट गरे । कोरोना महामारीको रोकथाम र उपचारका लागि स्थानीय तहले गरेका कामको उपप्रधानमन्त्री पोखरेलले प्रशंसा पनि गरे ।

सो अवसरमा नेकपाका स्थायी कमिटी सदस्य गोकर्णराज विष्टले निर्वाचनका समयमा जनतामाझ गरिएका वाचा पूरा गर्न जनप्रतिनिधिले गरेको सकारात्मक अभ्यासको प्रचारप्रसार हुनुपर्ने बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले स्थानीय तहले गरेका राम्रा कामले गर्दा वर्तमान समयमा जनताले नजिकबाट सरकार भएको अनुभूति गरेको धारणा राखे ।

महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले उक्त पुस्तकले स्थानीय तहको आवश्यकता र महत्वबारे थप स्पष्ट पारेको जनाए ।

पुस्तकमा पाँच विषयगत क्षेत्रमा समावेश गरिएको छ, जसमा ‘संस्थागत सुदृढीकरण, सेवा प्रवाह र अन्तरसरकार समन्वय’, ‘भौतिक विकास’, ‘सामाजिक विकास’, ‘आर्थिक विकास’ र ‘वन वातावरण तथा विपत् व्यवस्थापन’ छन् ।

मुलुकभरका ६६ जिल्लाका गाउँपालिका पुस्तकमा समेटीएका छन् । प्रदेशगत रुपमा सबैभन्दा बढी बागमती प्रदेशका ६२, प्रदेश नम्बर १ का ३८, प्रदेश नम्बर २ का १९, लुम्बिनी प्रदेशका ३९, गण्डकी प्रदेशका ३१, कर्णाली प्रदेश २८ र सुदूरपश्चिम प्रदेश २६ वटा अभ्यासहरु पुस्तकमा समेटिएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...