मलेरिया उन्मुलन गर्न सहकार्य आवश्यक : मन्त्री बस्नेत

25

काठमाडौँ, ११ कात्तिक । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले मलेरिया उन्मुलन गर्न दक्षिण एसियाली देशहरूबीच आपसी सहकार्य आवश्यक रहेको बताएका छन् ।

दक्षिण पूर्वी एसिया क्षेत्रीय समन्वय संयन्त्र फोरम (एसआरसिएमएफ) को आयोजनामा शुक्रबारदेखि राजधानीमा सुरू भएको मलेरिया उन्मुलनका लागि दक्षिण पूर्वी एसियाका सांसदहरूको योजना तथा तयारीका लागि प्राविधिक समितिको बैठकलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री बस्नेतले आपसी सहकार्यमा जोड दिए ।

मन्त्री बस्नेतले भने, “मलेरिया उन्मुलन सबैको साझा एजेन्डा हो । एक देशको प्रयासले मात्र दक्षिण पूर्वी एसियाबाट मलेरिया उन्मुलन गर्न सकिँदैन । यसमा सबैको प्राविधिक र आर्थिक सहकार्य आवश्यक छ ।” खुला सिमाना र बसाइसराइका कारण पनि मलेरिया उन्मुलन चुनौतीपूर्ण भएको उल्लेख गर्दै बस्नेतले सबैको सहकार्य भए सन् २०३० सम्म दक्षिण पूर्वी एसियाबाट मलेरिया उन्मुलन गर्न सकिने बताए ।

मलेरिया उन्मुलनका साथै स्वास्थ्यका अन्य नीति र कानुन बनाउने सर्वोच्च निकाय संसद् भएकाले विभिन्न देशका सांसदहरूबीच हुने अनुभव आदानप्रदान र छलफलले यो क्षेत्रबाट मलेरिया उन्मुलनका लागि महत्वपूर्ण भूमिका खेल्ने भनाइ राखे ।

Share This:
सम्बन्धित खबर
Loading...