काठमाडौँ, २३ असोज । तेल अबिबस्थित नेपाली राजदूतावासले हमासको आक्रमणमा मारिएका १० जना नेपालीको शव नेपाल पठाउन इजरायल सरकार र सम्बन्धित निकायसँग समन्वय एवम् सहकार्य थालेको बताएको छ ।
घाइते भएका ४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको तथा २ जनालाई तेल अबिबमा सुरक्षित राखिएको छ । दूतावासले जारी गरेको विज्ञप्तिअनुसार प्रहरी, अस्पताललगायत उपलब्ध स्थानीय संयन्त्रको सहयोगमा सम्पर्कविहीन भएका एक जना नेपालीको खोजी तीव्र गतिमा अघि बढाइएको जनाएको छ ।
“हाल युद्ध भइरहेको इजरायल गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा फसेका नेपाली विद्यार्थीहरूलाई कृषि प्रशिक्षण केन्द्र, इजरायली सुरक्षा संयन्त्र तथा नेपाली संघसंस्थाको सहयोगमा दूतावासले उद्धार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिरहेको छ,” विज्ञप्तिमा भनिएको छ ।
नेपाल फर्कन इच्छुकहरूले स्वदेश फिर्तीका लागि दूतावासबाट नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनका लागि अनलाइन रजिष्ट्रेसन सुरू भइ २ सयभन्दा बढीको विवरण प्राप्त भइसकेको छ ।
राजदूतावासले इजरायलमा भएका नेपालीलाई संयमित एवम् सतर्क भइ दूतावाससँग आवश्यक समन्वय र सहयोग गर्न आग्रह गरेको छ ।